मनसुनअघि नै कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन
काठमाडौं, ५ चैत्र । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको वर्षायाम (मनसुन) सुरु हुनुअगावै ऐतिहासिक कुमारी घर (कुमारी बहाल) को छानो जीर्णोद्धार गरिसक्न निर्देशन दिनुभएकाे छ । प्राविधिक अध्ययन प्रतिवेदनले कुमारी घरको भौतिक संरचना अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको देखाएपछि महानगरले छाना मर्मतको काम अघि बढाएको हो ।
मर्मत कार्यको स्थलगत अनुगमन गर्दै कार्यवाहक प्रमुख डंगोलले कुमारी घर काठमाडौंको अनुहार र पहिचान भएकाले यहाँको धार्मिक, सांस्कृतिक र दैनिक पूजाआजामा कुनै असर नपर्ने गरी काम गर्न निर्माण पक्षलाई निर्देशन दिनुभयाे ।
“छानो चुहिएको सूचना पाएपछि हामीले सरोकारवाला र स्थानीयसँग पटक–पटक छलफल गरी प्राविधिक अध्ययन गरायौँ,” उहाँले भन्नुभयाे , “प्राविधिक प्रतिवेदन र साझेदारहरूको सहमतिका आधारमा जीर्णोद्धार थालिएको हो । यसलाई समयमै सम्पन्न गर्न सबैको सहयोग आवश्यक छ ।”
अनुगमनका क्रममा वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले यो अत्यन्तै महत्त्वपूर्ण काम भएकाले वडाको तर्फबाट उच्च प्राथमिकताका साथ सहजीकरण गरिने प्रतिबद्धता जनाए ।
खुला प्रतिस्पर्धाबाट छानिएको ‘अजय निर्माण सेवा’ सँग सम्झौता भई गत फागुन २५ गतेदेखि जीर्णोद्धारको काम सुरु भइसकेको छ । महानगरले मर्मतका लागि १ करोड २५ लाख ४७ हजार ८६४ रुपैयाँ लागत अनुमान गरेकोमा निर्माण कम्पनीले ७१ लाख २४ हजार ६८९ रुपैयाँमा ठेक्का सकारेको हो ।
यद्यपि सम्पूर्ण मर्मतको अन्तिम म्याद २०८३ माघ ३० गतेसम्म रहे पनि, वर्षातमा पानी चुहिएर थप क्षति नहोस् भन्नका लागि छानाको काम भने मनसुनअघि नै सक्ने लक्ष्य राखिएको छ ।