नुवाकोटमा सिकारीको गोली लागेर घाँस काट्न गएकी महिला गम्भीर घाइते, दुई नाल बन्दुक बरामद

नुवाकोट, ६ चैत । नुवाकोटको शिवपुरी गाउँपालिका–३, दियालेस्थित जङ्गलमा घाँस काट्न गएकी एक महिला सिकारीले हानेको गोली लागेर गम्भीर घाइते भएकी छन् ।

बिहीबार अपराह्न जङ्गलमा घाँस काटिरहेको अवस्थामा स्थानीय ४१ वर्षीया कान्छिमाया तामाङलाई सिकारीले चलाएको गोली लागेको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार, छातीमा गोली लागेर गम्भीर घाइते भएकी तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । हाल उनको काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बिहीबार दिउँसो स्थानीय १७–१८ जनाको समूह बस्ती नजिकैको जङ्गलमा सिकार खेल्न गएको र सोही क्रममा चलाइएको गोली तामाङलाई लागेको खुलेको छ ।

घटनालगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनास्थलबाट सिकारमा प्रयोग गरिएको दुई थान भरुवा बन्दुक र मारिएको मृगको मासु बरामद गरेको एसपी रेग्मीले जानकारी दिए । घटनामा संलग्न सिकारीहरूको खोजी कार्य तीव्र पारिनुका साथै यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *