हुरीबतास र असिना पानीको उच्च जोखिमः तराईमा विशेष सतर्कता अपनाउन आग्रह, आइतबारदेखि मौसम खुल्ने

काठमाडौं,६ चैत । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि देशका विभिन्न भागमा हुरीसहित असिना पानी पर्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी तराईका जिल्लाहरूमा हावाहुरीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै अनावश्यक रूपमा घरबाहिर ननिस्कन सर्वसाधारणलाई सचेत गराइएको छ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। यसैका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानमा चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

मौसम विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार यो मौसमी प्रणाली उत्तर–पूर्वतिर सर्दै गइरहेको छ। “मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागमा ५० देखि ६० किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने सम्भावना छ। यो क्रम दुईदेखि तीन घण्टासम्म रहन सक्छ,” उनले भने, “यसले रुख ढल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्ने जोखिम छ।”

प्रवक्ता पोखरेलले काठमाडौं उपत्यकामा भने हुरीको प्रभाव कम रहने बताए। तर, सतर्कता अपनाउनु भने जरुरी रहेको उनको भनाइ छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको चेतावनी पनि दिइएको छ।

विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले मौसमी सूचनालाई बेवास्ता गर्दा प्राकृतिक विपद्बाट हुने क्षति बढ्ने गरेको भन्दै हावाहुरी र असिनाका बेला सवारीसाधन नचलाउन र रुख वा बिजुलीको खम्बा नजिक नबस्न सुझाव दिएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले आकाशमा गड्याङगुडुङ गर्न थालेपछि तत्काल सुरक्षित घर वा संरचनाभित्र जान आग्रह गरेका छन्।

चट्याङ र हुरीबाट बच्ने उपाय:
सुरक्षित ओत नभेटे: टाउको दुवै घुँडाको बीचमा राखेर दुवै हातले खुट्टा समाउने, खुट्टाको पञ्जाले भुइँमा टेकेर टुक्रुक्क बस्ने र शरीरलाई सानो बनाई कान थुन्ने।
समूहमा हुँदा: सबै जना छुट्टिएर टाढा–टाढा बस्ने।
खुला क्षेत्रमा: सम्भव भएसम्म होचो स्थान वा खोँचमा बस्ने, अग्लो रुख वा टावरमुनि नबस्ने र छाता नओढ्ने।
पानी र धातुबाट टाढा: खोला, पोखरी वा स्विमिङ पुलमा भए तुरुन्त बाहिर निस्कने। साइकल वा मोटरसाइकलबाट ओर्लिने र धातुका कुनै पनि वस्तु नछुने।

आइतबारदेखि मौसममा सुधार
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम बढी प्रभावित हुनेछ। शुक्रबार राति मौसम अझ सक्रिय भई कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। शनिबार दिउँसो पनि देशभर बदली कायम रहनेछ।

तर, महाशाखाको बुलेटिनअनुसार आइतबारदेखि भने मौसम क्रमशः खुल्ने सङ्केत देखिएको छ। आइतबार पहाडी र हिमाली भू–भागमा सामान्य बदली र तराईमा आंशिक बदली रहनेछ भने केही सीमित स्थानमा मात्र हल्का वर्षा र हिमपात हुने अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *