वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ निर्माण गरिँदै, चैत १२ देखि जात्रा सुरु हुने
काठमाडौं, ८ चैत्र । काठमाडौंको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको ‘सेतो मच्छेन्द्रनाथ’को रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ। वर्षा र सहकालका देवता मानिने सेतो मच्छेन्द्रनाथको रथ दरबारमार्गस्थित तीनधारा पाठशालाअघि धमाधम निर्माण भइरहेको छ।
गुठी संस्थानका अनुसार चैत्र शुक्ल प्रतिपदादेखि सुरु भएको रथ निर्माण कार्य आउँदो चैत ११ गते (चैत्र शुक्ल सप्तमी) सम्पन्न हुनेछ। संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार रथ निर्माणका लागि आवश्यक काठलगायत सामग्रीको व्यवस्थापन संस्थानले नै गरिरहेको छ।
हरेक वर्ष चैते दसैँ (चैत्र शुक्ल अष्टमी) का दिनदेखि राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु गर्ने परम्परा छ। यस वर्ष यही चैत १२ गते दिउँसो ४ बजे कुमारीलाई तीनधारा पाठशाला परिसरमा लगेर रथयात्राको औपचारिक शुभारम्भ गरिने सेतो मच्छेन्द्रनाथका पुजारी एवं काठमाडौँ महानगरपालिका वडा नं. २५ का पूर्वअध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए।
यस्तो छ तीन दिने जात्राको रुट:
सहरको भित्री भागमा चल्ने यो जात्रा तीन दिनसम्म सञ्चालन हुन्छ। जात्राकाे पहिलो दिन (चैत १२): तीनधारा पाठशालाबाट तान्न सुरु गरिएको ३२ हात लामो नागराजको प्रतीक मानिने यो रथ पहिलो दिन असन पुर्याइनेछ।
दोस्रो दिन (चैत १३): असनबाट तानेर रथलाई वसन्तपुरस्थित कालभैरव अगाडि लगिनेछ। तेस्रो दिन (चैत १४): वसन्तपुरबाट रथलाई लगन हुँदै जैसीदेवलतर्फ लगिनेछ। लगनमा रहेको सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथलाई तीनपटक घुमाउने परम्परा छ। त्यसपछि रथलाई मच्छेन्द्रबहालमा पुर्याएर जात्राको समापन गरिनेछ।
राष्ट्रपतिले असनमै पुगेर दर्शन गर्ने
सेतो मच्छेन्द्रनाथको रथयात्राको पहिलो दिन राष्ट्राध्यक्षले असनमै पुगेर रथको पूजा, दर्शन र प्रसाद ग्रहण गर्ने ऐतिहासिक परम्परा छ। यसै परम्पराअनुसार यही चैत १२ गते राति करिब १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले असन पुगेर रथको दर्शन गर्ने कार्यक्रम रहेको छ।
हरेक वर्ष यो जात्रा सम्पन्न गरेपछि देशमा राम्रो वर्षा हुने र सहकाल (अन्नबाली सप्रिने) आउने जनविश्वास छ। राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकिएपछि मात्रै ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्रा सुरु गर्ने चलन छ।