पोखराको लेकसाइडका ८ स्पा सञ्चालक पक्राउ: बालबालिकालाई काममा लगाएको र ‘अवान्छित’ क्रियाकलापको आरोप
कास्की, १६ चैत । जिल्ला प्रहरी कार्यालय कास्कीले पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा सञ्चालित स्पा सेन्टरहरूमा छापा मारी आठ जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ । बालिकाहरूलाई श्रममा लगाएको र स्पाभित्र ‘अवान्छित’ क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पोखरा–६ लेकसाइडमा व्यवसाय गर्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी, २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया अप्रिना खातुन र ४४ वर्षीय राजु थापामगर रहेका छन् । त्यस्तै पोखरा–१७ बस्ने २८ वर्षीय सरोज सुनारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्ता छन् आरोपहरू
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूमाथि मुख्य तीनवटा आरोप लगाइएको छ:
१. निर्धारित मापदण्ड विपरीत स्पा सेन्टर सञ्चालन गरेको ।
२. बालिकाहरूलाई कामदारका रूपमा राखेर श्रम शोषण गरेको ।
३. स्पा सेन्टरको आवरणमा भित्र अवान्छित एवं अनैतिक क्रियाकलाप गर्ने र गराउने गरेको ।
डीएसपी बस्नेतले भन्नुभयो, “विशेष सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा स्पाभित्र बालिकाहरूलाई जोखिमपूर्ण र अमर्यादित रूपमा काममा लगाएको पाइएपछि हामीले सञ्चालकहरूलाई पक्राउ गरेका हौँ ।”
प्रहरीले छापा मार्ने क्रममा विभिन्न स्पा सेन्टरबाट उद्धार गरिएका बालिकाहरूलाई आवश्यक प्रक्रिया पूरा गरी उनीहरूको परिवार र आफन्तको जिम्मा लगाएको छ । पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान सुरु गरिएको र उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने कास्की प्रहरीले जनाएको छ ।
पछिल्लो समय पोखराका स्पा र मसाज सेन्टरहरूमा हुने गरेका गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ ।