स्वास्थ्य मन्त्रालयद्वारा १४ विशेषज्ञ चिकित्सकको काज फिर्ता, आफ्नै दरबन्दीमा जान निर्देशन

काठमाडौँ, १७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा दरबन्दी रही अन्यत्र काजमा कार्यरत १४ जना विशेषज्ञ चिकित्सकहरूलाई उनीहरूको मूल दरबन्दीमा फिर्ता पठाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रिस्तरीय निर्णय गर्दै पहिलो चरणमा नवौँ र दशौँ तहका विशेषज्ञहरूलाई दरबन्दी भएकै स्थानमा खटाउनुभएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार डडेलधुरा अस्पताल, नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा दरबन्दी भएका तर लामो समयदेखि अन्यत्रै कार्यरत चिकित्सकहरूलाई फिर्ता पठाइएको हो।

कुन अस्पतालमा को–को फर्किए?
१. गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज (सप्तरी):
यस अस्पतालमा ५ जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन्। जसमा डा. रोहिता बज्राचार्य, डा. जोसनलाल बज्राचार्य, डा. विशालकुमार देव, डा. प्रकाश ढकाल र डा. सुशील समदर्शी रहनुभएको छ।
२. नारायणी अस्पताल, वीरगञ्ज (पर्सा):
वीरगञ्जमा ५ जना चिकित्सकलाई फिर्ता पठाइएको छ। फिर्ता हुनेहरूमा डा. सोनीका धरी श्रेष्ठ, डा. सञ्जोग तिमिल्सिना, डा. अरुण ज्ञवाली, डा. मुकेश पौडेल र डा. दिपेश भट्टराई हुनुहुन्छ।
३. डडेलधुरा अस्पताल, डडेलधुरा:
डडेलधुरामा ४ जना चिकित्सकलाई फिर्ता गरिएको छ। जसमा डा. सन्तोषकुमार गुप्ता, डा. मिसन्ता शर्मा, डा. नवीनचन्द्र भट्ट र डा. सुयोग्य वाग्ले रहनुभएको छ।

दुर्गम तथा अति व्यस्त सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको अभाव हुन नदिन र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयले ‘काज’ फिर्ता गर्ने अभियान सुरु गरेको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो। मन्त्रालयले आगामी दिनमा अन्य अस्पतालहरूमा पनि दरबन्दी अनुसारको पदपूर्ति र काज व्यवस्थापनलाई कडाइ गर्ने सङ्केत गरेको छ।