क्षमताभन्दा बढी कैदीबन्दी भएपछि भरतपुर कारागारबाट एक वर्षमा ११६ जना स्थानान्तरण

चितवन, ६ साउन । चितवनको भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि स्थान अभावका कारण विगत एक वर्षमा ११६ जना कैदीलाई अन्य जिल्लाका कारागारमा स्थानान्तरण गरिएको छ।

कारागार कार्यालय भरतपुरका प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार कारागारको भौतिक क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अदालतबाट कैद सजाय तोकिएकाहरूलाई अन्यत्र पठाउनुपरेको हो।

विगत एक वर्षमा यहाँबाट मकवानपुरको भीमफेदी कारागारमा ५३, नुवाकोटमा २६, कपिलवस्तुमा १७, कास्कीमा सात, जगन्नाथ देवल (काठमाडौँ) मा छ, स्याङ्जामा चार तथा नख्खु (ललितपुर) र नेपालगन्ज कारागारमा एक/एक जना गरी कुल ११६ कैदी स्थानान्तरण गरिएको छ।

भरतपुर कारागारको कुल क्षमता ३० महिला र ४७५ पुरुष गरी ५०५ जना अट्ने रहेको छ। तर, हाल यहाँ क्षमताभन्दा निकै बढी अर्थात् ४० महिला र ६७७ पुरुष गरी कुल ७१७ जना कैदीबन्दीलाई राखिएको छ।

क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा कारागारभित्र बस्ने ठाउँको अभाव हुनुका साथै न्यूनतम सरसफाइ र स्वास्थ्य सेवा व्यवस्थापनमा समेत कठिनाइ भइरहेको कारागार प्रशासनले जनाएको छ।