इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पः एकको मृत्यु, सुनामीको चेतावनी हटाइयो

एजेन्सी, १९ चैत्र । पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको ज्यान गएको छ। भूकम्पका कारण भौतिक संरचनाहरूमा क्षति पुगेको छ भने त्रसित सर्वसाधारण सडकमा निस्किएका छन्।

सुलावेसी र मालुकु टापुबीच केन्द्रविन्दु रहेको उक्त भूकम्पपछि हवाईस्थित प्रशान्त सुनामी चेतावनी केन्द्रले इन्डोनेसिया, फिलिपिन्स र मलेसियालगायतका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको थियो। तर, करिब दुई घण्टापछि उक्त खतरा टरेको भन्दै चेतावनी फिर्ता लिइएको छ। भूकम्पका कारण समुद्रमा करिब ७५ सेन्टिमिटरसम्म अग्ला छालहरू उठेका थिए।

उत्तरी सुलावेसीको मनाडो सहरमा एक भवन भत्किँदा भग्नावशेषमा पुरिएर एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएको खोज तथा उद्धार टोलीले जनाएको छ। उद्धार अधिकारी जर्ज लियो मर्सी रान्डाङका अनुसार भत्किएका संरचनामा अन्य सम्भावित घाइतेहरूको खोजी भइरहेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। मुख्य भूकम्पपछि सो क्षेत्रमा ५.९ म्याग्निच्युडसम्मका दर्जनौँ परकम्प (आफ्टरसक) महसुस गरिएका छन्।

स्थानीय बासिन्दाका अनुसार भूकम्पको धक्का अत्यन्तै शक्तिशाली थियो र एक मिनेटभन्दा बढी समयसम्म महसुस गरिएको थियो। मनाडो सहरकी सडक व्यापारी सिती रोहायतीले भूकम्प आउँदा आफ्ना बालबालिकालाई जोगाउन हतारहतार सुरक्षित स्थानतर्फ भागेको अनुभव सुनाइन्। त्यस्तै, उत्तरी मालुकुको टेर्नेटका बासिन्दाहरू पनि दैनिक कामकाज छाडेर ज्यान जोगाउन सडकमा दौडिएका थिए।

इन्डोनेसियाको भूगर्भीय निकायका अनुसार उत्तरी मालुकु, उत्तरी सुलावेसी र गोरोन्टालोका विभिन्न नौ स्थानमा समुद्री छालको प्रभाव देखिएको थियो। जापान, ताइवान, गुआम र पलाउलगायतका प्रशान्त क्षेत्रहरूमा समुद्री सतहमा सामान्य परिवर्तन आउन सक्ने भए पनि ठूलो जोखिम नरहेको जापानी मौसम विज्ञान एजेन्सीले जनाएको छ।

इन्डोनेसिया भूकम्पीय रूपमा उच्च जोखिमयुक्त मानिने ‘रिङ अफ फायर’ (सक्रिय ज्वालामुखी र भूकम्पीय क्षेत्र) मा पर्दछ। यसअघि सन् २००४ मा आचे क्षेत्रमा गएको ९.१ म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण १ लाख ७० हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *