आधा शताब्दी पछि मानिस फेरि चन्द्रमातर्फ : नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ मिसन प्रक्षेपण
एजेन्सी, १९ चैत्र । आधा शताब्दीभन्दा लामो अन्तरालपछि मानव जाति पुनः चन्द्रमातर्फ फर्किएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ मिसनअन्तर्गत चार जना अन्तरिक्ष यात्री बुधबार शक्तिशाली रकेटमार्फत चन्द्रमाको परिक्रमा गर्ने यात्रामा प्रस्थान गरेका छन्।
तीन अमेरिकी र एक क्यानेडियाली अन्तरिक्ष यात्री बोकेको ३२ तले ‘स्पेस लन्च सिस्टम (एसएलएस)’ रकेटले फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट सफलतापूर्वक उडान भरेको हो। अपोलो युगको झल्को दिने यस ऐतिहासिक प्रक्षेपणलाई हजारौँ मानिसले प्रत्यक्ष अवलोकन गरेका थिए। यस मिसनलाई भविष्यमा चन्द्रमामा मानव अवतरण र स्थायी आधार शिविर निर्माणको प्रमुख कडीका रूपमा हेरिएको छ।
यो मिसन अन्तरिक्ष यात्राको इतिहासमै विविधताका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ। मिसन कमान्डर रिड वाइसम्यानको नेतृत्वमा रहेको टोलीमा पाइलट भिक्टर ग्लोभर, अन्तरिक्ष यात्री क्रिस्टिना कोच र क्यानडाका जेरेमी ह्यानसेन रहेका छन्। यस टोलीमा चन्द्र अभियानमा पहिलोपटक एक महिला, एक अश्वेत व्यक्ति र एक गैर–अमेरिकी नागरिक समावेश छन्।
उडान भरेको केही मिनेटमै कमान्डर वाइसम्यानले चन्द्रमातर्फ अघि बढिरहेको दृश्यलाई ‘सुन्दर चन्द्रोदय’को सङ्ज्ञा दिएका थिए।
यो १० दिने परीक्षण उडान हो। प्रारम्भिक चरणमा अन्तरिक्ष यात्रीहरूले पृथ्वीको कक्षामा रहँदै यानको प्रणाली जाँच गर्नेछन्। त्यसपछि मुख्य इन्जिन प्रज्वलन गरी ‘ओरियन क्याप्सुल’ चन्द्रमातर्फ अघि बढ्नेछ। यस मिसनमा अन्तरिक्ष यात्रीहरू चन्द्रमाको सतहमा अवतरण भने गर्ने छैनन्।
उनीहरू चन्द्रमाको परिक्रमा गर्दै त्यसको पछाडिको भाग पार गरेर थप ६ हजार ४०० किलोमिटरसम्म अघि बढ्नेछन्। यो मानव इतिहासमै पृथ्वीबाट पुगिएको अहिलेसम्मकै सबैभन्दा टाढाको दूरी हुनेछ। त्यसपछि यान गुरुत्वाकर्षणको सहायता (फ्रि–रिटर्न ट्र्याजेक्टोरी) लिँदै सुरक्षित रूपमा पृथ्वीमा फर्किनेछ। उडानका क्रममा यात्रीहरूले म्यानुअल नियन्त्रणको अभ्याससमेत गर्नेछन् भने क्याप्सुलको झ्यालबाट चन्द्रमाको दुर्लभ भूभागको अवलोकन गर्नेछन्।
प्रक्षेपणअघि हाइड्रोजन चुहावट, ब्याट्री सेन्सर र उडान नियन्त्रणसम्बन्धी केही प्राविधिक चुनौतीहरू देखिए पनि तिनलाई तत्काल समाधान गरी उडानलाई हरियो झण्डा दिइएको थियो। अघिल्लो ‘आर्टेमिस–१’ मिसनमा देखिएको क्याप्सुलको ताप सुरक्षा प्रणालीसम्बन्धी कमजोरी नदोहोरियोस् भनेर यसपटक विशेष सावधानी अपनाइएको नासाले जनाएको छ।
नासाको आर्टेमिस कार्यक्रमको लक्ष्य अपोलो मिसनजस्तो चन्द्रमामा पुगेर फर्कने मात्र नभई, त्यहाँ मानवको दीर्घकालीन उपस्थिति स्थापित गर्नु हो। आगामी मिसनहरूमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने योजना छ।
अन्तरिक्ष यात्री क्रिस्टिना कोचले यो चन्द्र यात्रालाई मङ्गल ग्रहसम्म पुग्ने मार्गको प्रमुख आधारविन्दु र ‘नयाँ युगको सुरुआत’ भनेकी छन्। त्यस्तै, पाइलट ग्लोभरले यस यात्रालाई कुनै एक देश, जाति वा लिङ्गको मात्र नभई ‘सम्पूर्ण मानवताको साझा कथा’ भएको बताएका छन्।
