हेटौंडामा अर्काको नाममा एसईई दिने नक्कली परीक्षार्थी पक्राउ, दुवैजना प्रहरी नियन्त्रणमा
हेटौंडा, २० चैत । मकवानपुरको हेटौंडामा जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अर्काको नाममा नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन् । प्रहरीले नक्कली परीक्षार्थी र जसको नाममा परीक्षा दिइएको हो, ती दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार (२० चैत) हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा सिन्धुलीको मरिन गाउँपालिका–४ घर भई हाल हेटौंडा–४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, बिकले हेटौंडा–१२ पदमपोखरीका किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नाममा जारी भएको प्रवेशपत्र (एड्मिट कार्ड) मा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेका थिए ।
नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको तथ्य खुलेलगत्तै परीक्षा केन्द्रबाट बिकलाई नियन्त्रणमा लिइएको थियो । अनुसन्धानका क्रममा प्रहरीले मूल परीक्षार्थी अंकिश श्रेष्ठलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका नक्कली परीक्षार्थी बिक हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी रहेको डिएसपी बोगटीले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।