सुनसरीको तरहरामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
सुनसरी, २१ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका ५० वर्षीय अमरबहादुर भुजेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्रबहादुर खड्काका अनुसार शुक्रबार साँझ प्रदेश १–०२–०२० प ६८८३ र प्रदेश १–०२–०२० प ६३४० नम्बरका दुई मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी इटहरी–२० तरहराका १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राई घाइते भएका छन् ।
घाइतेमध्ये राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने गिरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण मोटरसाइकलहरू नियन्त्रण बाहिर गई एकापसमा ठोक्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।