कपिलवस्तु झडप : प्रहरीको गोली लागेर घाइते युवकको १५ दिनपछि मृत्यु
रुपन्देही, २३ चैत्र । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित वरगदामा १५ दिनअघि भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–भुटहनियाका २२ वर्षीय जितेन्द्र यादव रहेका छन्। चितवन मेडिकल कलेजमा उपचाररत यादवको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन्।
प्रहरीका अनुसार शल्यक्रियापछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको भन्दै चिकित्सकहरुले उनलाई सघन उपचार कक्ष (आईसीयू) बाट जनरल वार्डमा सारेका थिए। “अप्रेसनपछि उनको अवस्था सुधारोन्मुख थियो, तर वार्डमा सारिएपछि आज अचानक मृत्युको खबर आयो,” डीएसपी सिंहले भने।
यस्तो थियो घटना:
गत चैत ७ गते वरगदा गाउँमा हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदा झडप भएको थियो। दुई पक्षबीचको झडपले उग्र रुप लिएपछि स्थिति तनावग्रस्त बनेको थियो।
सोही अनियन्त्रित भीडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणमा लिन खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले हवाइ फायर गरेका थिए। सोही क्रममा पेटमा गोली लागेर यादव गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उद्धार गरी थप उपचारका लागि चितवन लगिएको थियो।
डीएसपी सिंहका अनुसार स्थिति नियन्त्रणमा लिन दुवै सुरक्षा निकायले फायरिङ गरेको हुनाले यादवलाई कुन निकायको वा कसको गोली लागेको हो भन्ने विषयमा यकिन भइसकेको छैन। यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।