पशुपति क्षेत्रमा अलपत्र भेटिएका फ्रान्सेली नागरिक अध्यागमन विभागको जिम्मा

काठमाडौँ, चैत २५ ।  पशुपतिनाथ मन्दिर परिसरमा अलपत्र अवस्थामा फेला परेका एक फ्रान्सेली नागरिकलाई प्रहरीले उद्धार गरी अध्यागमन विभाग बुझाएको छ । ती विदेशी नागरिक पशुपति क्षेत्रमा बेवारिसे अवस्थामा रहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, उनलाई फेला पारेर सोधपुछ गरेपछि आवश्यक प्रक्रियाका लागि अध्यागमन विभाग पठाइएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ती फ्रान्सेली नागरिकको कुनै पनि सामान चोरी वा लुटपाट नभएको पाइएको छ । उनी विगत छ वर्षदेखि नेपाली श्रीमतीका साथ नेपालमै बसोबास गर्दै आएको खुल्न आएको छ ।

आर्थिक अभावका कारण आफ्नो पासपोर्ट, मोबाइल र ल्यापटपलगायतका व्यक्तिगत सामग्रीहरू बसेकै होटलमा छाडेर उनी बाहिर निस्किएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । हाल उनलाई थप कानुनी र व्यवस्थापकीय प्रक्रियाका लागि विभागको जिम्मा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *