इरानको कडा प्रत्याक्रमण: कुवेत र यूएईमा मिसाइल प्रहार, लावान टापुको तेल केन्द्रमा भीषण क्षति
एजेन्सी, २६ चैत । इरानले आफ्नो लावान टापुस्थित रणनीतिक महत्वको तेल संरचनामाथि हवाई आक्रमण भएपछि त्यसको प्रतिशोधमा कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) माथि मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । इरानी सरकारी टेलिभिजनले बुधबार यसको पुष्टि गरेको हो ।
सरकारी सञ्चारमाध्यमका अनुसार लावान टापुको तेल प्रशोधन केन्द्रलाई निशाना बनाइएको केही घण्टाभित्रै इरानले छिमेकी खाडी मुलुकहरू कुवेत र यूएईतर्फ अत्याधुनिक मिसाइल र विस्फोटक ड्रोनहरू प्रहार गरेको हो ।
इरानी राष्ट्रिय तेल प्रशोधन तथा वितरण कम्पनीले मङ्गलबार राति मात्रै सङ्घर्षविरामको घोषणा गरिएको भए तापनि बुधबार बिहान करिब १०:०० बजे लावान टापुमा आक्रमण भएको जनाएको छ । कम्पनीले उक्त हवाई हमलालाई ‘कायरतापूर्ण’ कदम भन्दै कडा शब्दमा निन्दा गरेको छ ।
आक्रमणपछि तेल केन्द्रमा लागेको भीषण आगो नियन्त्रणका लागि सुरक्षा र दमकल टोलीहरू निरन्तर खटिरहेको बताइएको छ । “कर्मचारीहरूलाई समयमै सुरक्षित स्थानमा सारिएका कारण ठूलो मानवीय क्षति हुन पाएन,” कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल भौतिक संरचनालाई थप क्षति हुनबाट जोगाउने प्रयास भइरहेको छ ।
लावान टापु इरानको तेल अर्थतन्त्रका लागि निकै महत्वपूर्ण मानिन्छ । यहाँ रहेको प्रशोधन केन्द्रले नजिकैका तेल क्षेत्रहरूबाट उत्खनन गरिएको कच्चा तेललाई प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गर्दछ । यहाँबाट इरानको सबैभन्दा उच्च गुणस्तरको तेल उत्पादन र निर्यात हुने गरेको छ ।
उपलब्ध तथ्याङ्कअनुसार यो केन्द्र दैनिक करिब ६० हजार ब्यारेल कच्चा तेल प्रशोधन गर्ने क्षमता राख्दछ । यसअघि पनि खाडी क्षेत्रमा रहेका इरानी टापुहरू द्वन्द्वको निशाना बन्दै आएका थिए । विशेषगरी तेल निर्यातको मुख्य विन्दु मानिने खार्ग टापुमा रहेका सैन्य संरचनाहरूमा यसअघि दुई पटक हवाई आक्रमण भइसकेको छ ।
इरानको यो पछिल्लो प्रत्याक्रमणले मध्यपूर्वमा जारी युद्धको दायरा थप विस्तार हुने र विश्व तेल बजारमा गम्भीर असर पर्ने देखिएको छ । कुवेत र यूएईले भने यस आक्रमणका सम्बन्धमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।