टोखामा ऐतिहासिक विस्का: जात्राको तयारी पुरा: नगरपालिकाद्वारा १२ लाख बजेट विनियोजन
काठमाडौँ , २७ चैत । ऐतिहासिक एवं सांस्कृतिक नगरी टोखामा यस वर्षको प्रसिद्ध ‘विस्का: जात्रा’ लाई भव्य रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको छ। टोखा नगरपालिका र ‘टोखा विस्का: जात्रा २०८३ मूल व्यवस्थापन समिति’ले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गर्दै जात्राको तयारी र व्यवस्थापकीय पक्षबारे जानकारी दिएका हुन्।
नगरपालिकाले आफ्नो ऐतिहासिक धरोहर र पूर्खाको विरासतलाई जीवित राख्न यो जात्रालाई उच्च प्राथमिकता दिएको जनाएको छ। जात्रालाई व्यवस्थित बनाउन नगरपालिकाले चालू आर्थिक वर्षमा १२ लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ।
विस्का: जात्राको ऐतिहासिक र पौराणिक पृष्ठभूमि
संस्कृतिविद्हरूका अनुसार तत्कालीन नेपाल मण्डलको केन्द्र भक्तपुरका राजा राय मल्लका छोरा भुवन मल्लको पालादेखि टोखामा यो जात्रा सुरु भएको मानिन्छ। कतिपय इतिहासमा राजा जगज्याेति मल्लको योगदानलाई पनि स्मरण गरिन्छ। नयाँ वर्षको स्वागत र लिच्छवीकालीन इतिहाससँग जोडिएको यो जात्रा टोखाको विशिष्ट सांस्कृतिक पहिचान हो।
आगामी वैशाख १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने जात्रामा गणेश , सपन बिनायक ,कोथु गणेश , पिङ्गद्य मसानकाली, चण्डेश्वरी, सरस्वती र महाद्यकाे खटसहित ७ वटा खटहरूलाई वैदिक तथा तान्त्रिक विधिअनुसार पूजा गरि जात्रा गरिन्छ । जात्रा अवधिभर दाफा भजन, धिमे र सिन्दूर जात्राको रौनक छाउनेछ। साथै, इवलीमा ‘याः प्याखं’, ‘नाग प्याखं’ र ‘माक प्याखं’ जस्ता पौराणिक नाचहरू प्रदर्शन गरिने मूल व्यवस्थापन समितिले जनाएको छ।
वैशाख १ गते खायु सल्हुका दिन सपनतीर्थमा स्नान गरी श्वेत गणेशको दर्शन गरेमा गम्भीर रोगव्याधि निको हुने र पारिवारिक सुख–शान्ति मिल्ने धार्मिक जनविश्वास रहेको छ।
१२३ सदस्यीय व्यवस्थापन समिति गठन
जात्रालाई सभ्य र सुमधुर रूपमा सम्पन्न गर्न तलेजुका मूल नाइके हेमराज श्रेष्ठको संयोजकत्वमा १२३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। समितिअन्तर्गत विभिन्न उप–समितिहरू बनाएर जिम्मेवारी बाँडफाँड गरिएको छ।
भक्तजनका लागि विशेष सुविधा
जात्रामा आउने श्रद्धालु र भक्तजनहरूको सहजताका लागि नगरपालिकाले निम्न व्यवस्था मिलाएको छ:
बाइपास बाटो र व्यवस्थित पार्किङको प्रबन्ध।
निःशुल्क शुद्ध खानेपानी र सार्वजनिक शौचालय।
सुरक्षा व्यवस्था र प्राथमिक स्वास्थ्य सेवा।
व्यापारिक तथा मनोरञ्जन स्थलहरूको व्यवस्थापन।
नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरूले जात्रालाई टोखाको गौरवकै रूपमा स्थापित गर्न स्थानीय क्लब, संघ–संस्था र बाजा खलःहरूलाई एकजुट भएर लाग्न आह्वान गरेका छन्। विनियोजित १२ लाख रुपैयाँ बाजा मर्मत, तलेजु पूजा सञ्चालन र जीवित देवी कुमारी एवं गणेशको पालनपोषणमा समेत खर्च गरिने जानकारी दिइएको छ।