बिस्का जात्रामा नयाँ इतिहास: पहिलोपटक महिलाले मात्र ताने नकिजु अजिमाको रथ
भक्तपुर, ४ वैशाख । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक बिस्काः जात्रामा यस वर्ष एक नयाँ इतिहास कायम भएको छ । जात्राको सातौँ दिन बिहीबार इतिहासमै पहिलोपटक महिलाहरूले मात्र नकिजु अजिमा (भद्रकाली) को दुईतले रथ तानेका छन् ।
विगतमा पुरुषहरूले मात्र तान्ने गरिएको यो रथलाई यस वर्ष जात्रा व्यवस्थापन समितिले विशेष पहल गर्दै महिलाहरूलाई मात्र तान्न आह्वान गरेको थियो । पाँचतले मन्दिर (न्यातपोल) परिसरबाट सुरु भएको भद्रकालीको रथ तान्ने क्रममा हजारौँ महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो । जात्रामा महिलाहरूको यस्तो सक्रियता र नेतृत्वलाई स्थानीयले परम्पराभित्रको सकारात्मक परिवर्तनका रूपमा लिएका छन् ।
बिहीबार नै भक्तपुरमा प्रसिद्ध ‘तिप्वा जात्रा’ समेत सम्पन्न भएको छ । बिस्का जात्राको सातौँ दिन मनाइने यस जात्रामा ब्रम्हायणी र महेश्वरी देवीको खटलाई एकापसमा जुधाइएको थियो । तान्त्रिक विधिअनुसार खट जुधाएर मनाइने यो जात्रा हेर्न भक्तपुरका गल्लीहरूमा श्रद्धालुहरूको ठूलो घुइँचो लागेको थियो ।
आठ रात नौ दिन लामो जात्राको आठौँ दिन आज (शुक्रबार) भक्तपुरमा ‘सगुन जात्रा’ (द्यो स्वगं बीगु) मनाइँदैछ । यस अवसरमा भक्तपुरका स्थानीय बासिन्दाले विभिन्न शक्तिपीठ तथा टोल–टोलमा रहेका देवीदेवताका मन्दिरमा पुगी सगुन चढाएर पूजाअर्चना गर्ने गर्दछन् ।
जात्राको अन्तिम दिन भोलि वैशाख ५ गते अपराह्न पुनः प्रसिद्ध भैरवनाथको रथ तानिनेछ । टौमढीबाट सुरु हुने रथ तान्ने यो जात्रासँगै यस वर्षको बिस्का जात्रा विधिवत् रूपमा समापन हुने परम्परा छ ।