एमालेमा ‘डिजिटल सदस्यता प्रणाली’ लागूः समयमै नवीकरण नगरे पदबाट स्वतः मुक्त हुने
काठमाडौँ, २० बैशाख । नेकपा (एमाले) ले पार्टी सदस्यता वितरण तथा नवीकरण प्रक्रियालाई पूर्ण रूपमा डिजिटल (अनलाइन) प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। तोकिएको समयभित्र सदस्यता नवीकरण नगर्ने नेता–कार्यकर्तालाई पार्टी कमिटीको जिम्मेवारीबाट स्वतः पदमुक्त गर्ने कडा नीतिसमेत एमालेले अघि सारेको छ।
पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागले प्रस्तुत गरेको ‘सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठक’ मा यसबारे विस्तृत छलफल गरिएको हो। बैठकमा उपाध्यक्ष, महासचिव, प्रदेशका अध्यक्षहरू तथा जनसंगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अनलाइन सदस्यता नवीकरण अभियानले पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
संगठन विभागका प्रमुख एवं पार्टी सचिव भानुभक्त ढकालले पार्टीलाई केन्द्रीय तहदेखि वडा तहसम्म एकीकृत डिजिटल अभिलेखीकरण प्रणालीमा लैजान लागिएको जानकारी दिए। उनका अनुसार अब एमालेको सम्पूर्ण सदस्यता प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गरिनेछ। यस प्रणालीलाई सातवटै प्रदेश, सबै जिल्ला र ७५३ वटै स्थानीय तहमा एकैसाथ लागू गर्ने तयारी गरिएको छ।
यस नयाँ व्यवस्थाअनुसार अनलाइन प्रणालीमार्फत केन्द्रीय समितिदेखि वडा तहसम्मका नेता–कार्यकर्ताको ‘बायोडाटा’ (व्यक्तिगत विवरण) संकलन तथा सुरक्षित अभिलेखीकरण गरिनेछ। प्रविधिमा सहज पहुँच नहुनेहरूका लागि प्रत्येक पालिकामा भौतिक उपस्थितिमै सदस्यतासम्बन्धी सहजीकरणको व्यवस्था मिलाइनेछ। साथै, पार्टीको काम र मूल्याङ्कनसँग जोडेर मात्र सदस्यता नवीकरण गरिने विभागले जनाएको छ।
यसअघि पार्टी महासचिवको उपस्थितिमा सातै प्रदेशका अध्यक्षहरूसहित बसेको संगठन विभागको बैठकले आगामी जेठ मसान्तलाई सदस्यता नवीकरणको अन्तिम म्याद तोक्ने प्रस्ताव अघि सारेको थियो।
संगठन विभाग प्रमुख ढकालले तोकिएको म्यादभित्र अनलाइनमार्फत सदस्यता नवीकरण नगर्ने सदस्यहरू सम्बन्धित पार्टी कमिटीको जिम्मेवारीबाट स्वतः मुक्त हुने स्पष्ट पारेका छन्।