अमेरिका र इजरायलसँगको द्वन्द्व अन्त्य गर्न इरानद्वारा नयाँ प्रस्ताव, कूटनीतिक पहल तीव्र
एजेन्सी, २० बैशाख । मध्यपूर्वमा जारी तनाव र संयुक्त राज्य अमेरिकासँगको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरानले नयाँ प्रस्ताव अघि सारेको छ। इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले यस नयाँ प्रस्तावका विषयमा एसिया र युरोपका विभिन्न देशका समकक्षीहरूसँग छलफल गरेका छन्।
इरानी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार, विदेशमन्त्री अराघचीले शुक्रबार र शनिबार टर्किए, कतार, साउदी अरेबिया, इजिप्ट, इराक, अजरबैजान, रुस, दक्षिण कोरिया, जापान, फ्रान्स र इटालीका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका हुन्। त्यसैगरी, उनले युरोपेली सङ्घ (ईयू) का परराष्ट्र नीति प्रमुखसँग पनि क्षेत्रीय सुरक्षा र वासिङ्टनसँगको सम्भावित युद्धविरामका विषयमा परामर्श गरेका छन्।
वार्ताका क्रममा अराघचीले अमेरिकी र इजरायली सैन्य गतिविधिहरूका कारण पर्सियन खाडी (फारसको खाडी) र हर्मुज जलघाँटी क्षेत्रमा असुरक्षा बढेको गुनासो गरेका थिए। इरानले द्वन्द्वको सुरुवात नगरेको दाबी गर्दै उनले भने, “यदि अमेरिकाले आफ्नो कडा नीति, धम्कीपूर्ण अभिव्यक्ति र उक्साउने कार्यहरू बन्द गर्छ भने इरान कूटनीतिक समाधानका लागि सधैँ तयार छ।”
यद्यपि, उनले कुनै पनि सम्भावित बाह्य खतराको सामना गर्न इरानी सशस्त्र बल पूर्ण रूपमा तयार रहेको चेतावनीसमेत दिएका छन्। साथै, अराघचीले तनाव न्यूनीकरण गर्न केही क्षेत्रीय राष्ट्रहरूले खेलिरहेको ‘रचनात्मक भूमिका’ को प्रशंसा गरेका छन्।
गत अप्रिल ८ मा युद्धविराम लागू गरिए पनि इस्लामाबादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो। इरानको सरकारी समाचार संस्थाका अनुसार, अहिले इरानले पाकिस्तानकै मध्यस्थतामा नयाँ वार्ताको प्रस्ताव अगाडि बढाएको छ।