हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा
काठमाडौँ, २१ वैशाख । जल तथा मौसम विज्ञान विभागले हावाहुरी र चट्याङसहित भारी वर्षा गराउने मौसम प्रणाली क्रमशः पूर्वतिर सरिरहेको जनाएको छ। सोही प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित बागमती र मधेस प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार, सुदूरपश्चिमबाट सुरु भएको वर्षाको प्रणाली लुम्बिनी हुँदै बागमती र मधेस प्रदेशसम्म फैलिसकेको छ। हाल कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हुरीबतास र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
“पानी पार्ने यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ,” मौसमविद् अधिकारीले भने, “हुरीबतासको गति करिब ४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने र केही स्थानमा यसको प्रभाव दुई घण्टासम्म रहन सक्ने अनुमान छ।” आज विशेषगरी देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको र साँझपछि वर्षाको क्रम केही कम हुने विभागले जनाएको छ। यद्यपि, साताभर नै वर्षा गराउने प्रणाली सक्रिय रहनेछ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिकको तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। यसका साथै, नेपालको दक्षिणी भूभाग हुँदै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यूनचापीय रेखाले पनि मौसममा प्रभाव पारिरहेको छ।
हाल सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली छ भने कोशी र कर्णाली प्रदेशलगायत लुम्बिनीको पश्चिमी क्षेत्र र हिमाली भूभागमा सामान्य बदली रहेको छ। सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका साथै हिमाली र पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्नेछ। राति पनि देशभर सामान्य बदली रही पहाडी र तराईका केही स्थानमा वर्षा हुनेछ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशका थोरै स्थानमा मात्र वर्षा हुनेछ। राति यी प्रदेशहरूमा बदली रही केही स्थानमा मेघगर्जनसहित पानी पर्ने अनुमान छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ।
विभागले हावाहुरी, चट्याङ र भारी वर्षाका कारण कृषि, यातायात तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ।