स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच तनाव: ७ वटा इरानी डुंगा ध्वस्त पारेको ट्रम्पको दाबी
एजेन्सी, २२ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण ‘स्ट्रेट अफ होर्मुज’ मा इरानका सात वटा युद्धक डुंगा (फास्ट बोट) हरूलाई अमेरिकी सेनाले ध्वस्त पारेको दाबी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ अभियान अन्तर्गत अमेरिकी सेनाले हेलिकप्टर प्रयोग गरेर ती डुंगाहरूमाथि सफल आक्रमण गरेको जानकारी दिनुभयो । “हामीले इरानका सात वटा साना डुङ्गाहरूलाई ध्वस्त पारेका छौं । अब उनीहरूसँग यस्ता थोरै मात्र बाँकी छन्,” ट्रम्पले भन्नुभयो ।
यता, इरानले भने अमेरिकी दाबीलाई ‘पूर्ण रूपमा झूटो र प्रचारबाजी’ मात्र भएको टिप्पणी गरेको छ । इरानी अधिकारीहरूले आफ्नो सेनामाथि कुनै पनि आक्रमण नभएको र अमेरिकाले विश्वलाई भ्रममा राख्न यस्तो प्रचार गरिरहेको आरोप लगाएका छन् ।
यसैबीच, अमेरिकी सैन्य सुरक्षा घेराका बीच एक व्यापारिक जहाजले सफलतापूर्वक स्ट्रेट अफ होर्मुज पार गरेको छ । ढुवानी कम्पनी ‘मर्स्क’ का अनुसार उसको अमेरिकी झण्डावाहक जहाज ‘एलायन्स फेयरफ्याक्स’ सैन्य सुरक्षाका साथ सो जलमार्ग पार गर्न सफल भएको हो । यो जहाज गत फेब्रुअरीदेखि खाडी क्षेत्रमा अलपत्र परेको थियो । कम्पनीले जहाजका सबै चालकदल सुरक्षित रहेको र यात्रामा कुनै अवरोध नभएको स्पष्ट पारेको छ ।
गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि यो क्षेत्र तनावग्रस्त बनेको छ । विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ओसारपसार हुने यो महत्वपूर्ण जलमार्ग इरानले अवरुद्ध गरेको थियो ।
अप्रिलको सुरुमा युद्धविरामको घोषणा गरिए पनि यो मार्गबाट जहाजहरूको आवागमन अझै सहज हुन सकेको छैन । फेब्रुअरीदेखि सुरु भएको यो तनावका कारण करिब २ हजार जहाज र ती जहाजमा रहेका २० हजार नाविकहरू सो क्षेत्रमा अलपत्र परेका छन् । अमेरिकाले अहिले इरानी बन्दरगाहहरूमा आफ्नै नाकाबन्दी समेत लागू गरेको छ ।
इरानले आफ्नो सेनाले अमेरिकी युद्धपोततर्फ चेतावनी स्वरूप गोली चलाएको दाबी गरेको छ भने अमेरिकाले त्यसलाई अस्वीकार गरेको छ । पछिल्लो घटनाले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको र विश्व इन्धन बजारमा समेत यसको प्रत्यक्ष असर देखिएको छ ।