राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ, २२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश’ जारी गरेका छन्।

यसअघि राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको उक्त अध्यादेश मन्त्रिपरिषद्ले कुनै परिमार्जनविना जस्ताको तस्तै पुनः सिफारिस गरेपछि राष्ट्रपति पौडेलले जारी गरेका हुन्। मन्त्रिपरिषद्ले दोस्रो पटक सिफारिस गरेपछि राष्ट्रपतिले अध्यादेश जारी गर्ने निर्णय लिएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले अध्यादेशमा राखिएको बैठकको गणपूरक सङ्ख्या र सिफारिससम्बन्धी प्रावधानमा असन्तुष्टि जनाउँदै दुई दिनअघि मात्रै यसलाई सरकारसमक्ष फिर्ता पठाएका थिए।

अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्मा अध्यक्ष (प्रधानमन्त्री) सहित ३ जना सदस्यले मात्र पनि निर्णय गर्न सक्ने विवादास्पद प्रावधान राखिएको छ। संविधानले परिकल्पना गरेको ‘बहुमतले निर्णय गर्ने’ मर्म र व्यवस्थालाई यस कानुनले खण्डित गर्ने भन्दै राष्ट्रपतिले आफ्नो पूर्ववत् अडानसहित अध्यादेश फर्काएका थिए। अध्यादेश जारी भएसँगै अब सरकारलाई संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिस गर्न सहज हुनेछ।