सुपा देउराली दर्शन गरेर फर्किएको बस अर्घाखाँचीमा दुर्घटना : २ जनाको मृत्यु, २२ घाइते

अर्घाखाँची, २९ वैशाख । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँटस्थित कुडुलेमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।

पर्वतबाट अर्घाखाँचीको सुपा देउराली दर्शनका लागि आएका तीर्थयात्री चढेको ग १ ध ५०४ नम्बरको बस दर्शन सकेर फर्कने क्रममा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवसबहादुर जिसीले दुर्घटनाको पुष्टि गर्दै हाल घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा भइरहेको जानकारी दिए ।

पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमका अनुसार स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा घाइतेहरूको उद्धार कार्य जारी छ । उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि पाल्पा र अर्घाखाँची जिल्ला अस्पताल पठाउने क्रम चलिरहेको छ ।

मृतकहरूको पहिचान भने खुल्न बाँकी छ ।