दोस्रो विश्वयुद्धकालीन रक्षा सहकार्य तोड्दै अमेरिका : क्यानाडासँगको सम्बन्धमा थप चिसोपना
वासिङ्टन, ६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यानाडासँग दशकौँ पुरानो सैन्य सहकार्य अन्त्य गर्ने घोषणा गरेको छ । क्यानाडाले आफ्नो रक्षा दायित्व पूरा गर्न असफल भएको आरोप लगाउँदै अमेरिकाले दोस्रो विश्वयुद्धदेखि जारी ‘संयुक्त रक्षा बोर्ड’ बाट बाहिरिने निर्णय गरेको हो ।
अमेरिकी रक्षा उपसचिव एल्ब्रिज कोल्बीले सोमबार सामाजिक सञ्जालमार्फत ‘पर्मानेन्ट जोइन्ट बोर्ड अन डिफेन्स’ (PJBD) मा अमेरिकाको संलग्नता तत्कालका लागि रोकिने जानकारी दिनुभयो । यस मञ्चको उपयोगिता र फाइदाहरूको पुनः मूल्याङ्कन गर्नका लागि सहभागिता स्थगित गरिएको उहाँको भनाइ छ ।
सन् २०२५ मा ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएपछि क्यानाडासँगको सम्बन्ध निरन्तर तनावपूर्ण बन्दै गएको छ । रक्षा उपसचिव कोल्बीले एक्स (ट्विटर) मा लेख्नुभएको छ, “हामीलाई गफभन्दा पनि सैन्य शक्ति (हार्ड पावर) लाई प्राथमिकता दिने बलियो क्यानाडाको आवश्यकता छ । दुर्भाग्यवश, क्यानाडाले आफ्नो रक्षा प्रतिबद्धतामा कुनै विश्वसनीय प्रगति गर्न सकेन ।” उहाँले वास्तविक शक्तिहरूले गफ मात्र नगरी सुरक्षा जिम्मेवारीमा बराबर हिस्सेदारी निभाउनुपर्नेमा जोड दिनुभयो ।
सहयोगी राष्ट्रमाथि ट्रम्पको दबाब
राष्ट्रपति ट्रम्पले पश्चिमी सहयोगी राष्ट्रहरू अमेरिकी सैन्य शक्तिमा बढी निर्भर भएको भन्दै लामो समयदेखि आलोचना गर्दै आउनुभएको छ । यद्यपि, सहयोगी राष्ट्रहरूले भने आफ्नो सैन्य खर्च बढाउँदै लगेको दाबी गरेका छन् ।
गत वर्ष नेदरल्यान्ड्सको द हेगमा भएको नेटो शिखर सम्मेलनमा स्पेनबाहेक लगभग सबै सदस्य राष्ट्रहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्न सहमत भएका थिए । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि उक्त प्रतिबद्धता जनाउनुभएको थियो ।
प्रधानमन्त्री कार्नीको योजनाअनुसार ५ प्रतिशतमध्ये ३.५ प्रतिशत बजेट सैन्य क्षमता सुदृढीकरणमा र बाँकी सुरक्षा पूर्वाधार तथा आपत्कालीन तयारीमा खर्च गर्ने तयारी छ । गत मार्च २०२५ मा कार्यभार सम्हालेका कार्नीले क्यानाडालाई अमेरिकाको सैन्य र आर्थिक परनिर्भरताबाट मुक्त राख्ने अडान लिँदै आउनुभएको छ ।
‘५१ औँ राज्य’ को विवाद र बढ्दो तनाव
सुरक्षा बाहेक व्यापार र सीमा सुरक्षाका विषयमा पनि दुई देशबीच विवाद चुलिएको छ । ट्रम्पले क्यानाडामाथि अनुचित व्यापार नीति अपनाएको र सीमाबाट हुने अवैध तस्करी नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभएको छ । यसै विषयलाई लिएर ट्रम्पले क्यानाडाली आयातमा भारी कर (ट्यारिफ) लगाउने चेतावनी समेत दिनुभएको छ ।
विवादकै बीच ट्रम्पले क्यानाडालाई सार्वभौमसत्ता त्यागेर अमेरिकाको ‘५१ औँ राज्य’ बन्न दिएको विवादास्पद सुझावको समेत चौतर्फी आलोचना भइरहेको छ । अमेरिकी रिपब्लिकन सांसद डोन बेकनले सरकारको यस निर्णयको विरोध गर्दै भन्नुभएको छ, “छिमेकीसँगको सम्बन्ध जोगाउन समझदारी आवश्यक छ । क्यानाडालाई ५१ औँ राज्य बनाउने जस्ता अपमानजनक टिप्पणीले हामीलाई आर्थिक र सैन्य दुवै रूपमा घाटा पुर्याएको छ ।”
उत्तर अमेरिकी देशहरू अमेरिका, क्यानाडा र मेक्सिकोबीच यसै वर्ष क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौता (USMCA) को नयाँ संस्करणका लागि वार्ता हुँदैछ । यस्तो संवेदनशील समयमा रक्षा सहकार्य तोडिनुलाई रणनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।(अन्तराष्ट्रिय न्यूज ऐजन्सी)