पार्वतीले ‘अब उप्रान्त निसन्तान हुनु’ भनेर भन्ने श्राप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरानः ओली
काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिजोआज समाजमा ‘नक्कली भगवान्’ जन्मिएर हैरान पारेको टिप्पणी गर्नुभएको छ । उहाँले २२–२३ सय वर्षअघि भगवानहरू छ्यासछ्यास्ती जन्मिएको र तेत्तीसकोटी देवताको प्रसङ्ग जोड्दै ‘पार्वतीले श्राप दिएपछि देवताहरूको जन्म हुन बन्द’ भएको उल्लेख गर्नुभयो । ‘२२–२३ सय वर्षअघि भगवानहरू छ्यासछ्यासती जन्मिँदा तेत्तिसकोटी जन्मिए। धन्न पार्वतीले श्राप दिइछन् र देवता जन्मिन पाएनन्’, मंगलबार नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा ‘मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रम’मा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अब कुनै देवताको पनि सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू, तर पार्वतीले श्राप दिएपछि फेरि हिजोआज नक्कली भगवान् जन्मिएर हैरान छ।’
पार्वतीले ‘अब उप्रान्त निसन्तान हुनु’ भनेर भन्ने श्राप दिएको र अब कुनै देवताको पनि तिमीहरूको सन्तान नहोस् भनेपछि देवताहरू जन्मिन ठप्प भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, असत्य नबोल्न, सत्य बोल्न, शान्तिको मार्गमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने भन्दै ओलीले यसलाई नै आधार बनाएर हिड्नुपर्नेमा जोड दिनुभयो । ‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौं। त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट । यसैकारण यो अष्टाङ्ग योगको अष्टाङ्गमध्येको पहिलोले के भन्छ भन्दाखेरि– यम, दोस्रोले के भन्छ– नियम । यो गर, यो नगर । यम, नियम भनेको त्यो । हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिंड, सबैको सुरक्षा भन्छ । अस्तेय, अर्काको सम्पत्तिमा लोभ नगर । आफ्नो हकको, जायज हकको चिजमा बाहेक अन्त कुनै लोभ नगर भन्छ । हामीले खोजेकै त्यही त हो नि,’ ओलीले भन्नुभयो ।
अरूको सम्पत्तिमा लोभ नगर्ने, आफ्नो जायज हकमा मात्र सीमित रहने मान्यता आफूहरूले खोजेको सामाजिक आदर्शसँग मेल खाने उहाँको भनाइ छ । अध्यक्ष ओलीले पतञ्जलीको योगमा आइपुग्दा योग दर्शन ईश्वरवादसँग मिसिएको दाबी गर्नुभयो । उहाँले योग पतञ्जलिमा आइपुग्दाखेरि ईश्वरवादमा मिसिन गएको भन्दै त्योभन्दा अगाडि ईश्वरवादमा योग नमिसिने उल्लेख गर्नुभयो । ‘सांख्यमा ईश्वरवादमा योग मिसिँदैन, शैवमा ईश्वरवादमा योग मिसिँदैन,’ उहाँले भन्नुभयो, ‘आदियोगी शिवले ईश्वरदको कुरा गर्दैनन्, योगको कुरा गर्छन् । बलियो, स्वस्थ दिमाग, स्वस्थ शरीर राख । शिवको योगमा त्यो हुन्छ र सांख्य योगमा पनि त्यही हुन्छ ।’
