दक्षिणतिरबाट आउने जोगीहरूलाई सहजै विश्वास गर्ने हामी आफूकहाँ भएका विद्वान् चिन्दैनौँः ओली

 

काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा दक्षिणतिरबाट आउने जोगीहरूलाई सहजै विश्वास गर्ने तर आफ्नै देशका विद्वान्लाई चिन्न र सम्मान गर्न नसक्ने प्रवृत्ति रहेको बताउनु भएको छ ।

उहाँले नेपाली समाजमा आफ्नै देशका विद्वान्, लेखक र चिन्तकलाई भन्दा विदेशी विद्वानका विचार तथा लेखलाई बढी महत्त्व दिने प्रवृत्ति रहेको गुनासो गर्दै यस्तो बताउनु भएको हो ।

‘हामी आफूकहाँ भएका विद्वान् चिन्दैनौँ। सम्भवतः तपाईंहरूले आफ्ना ग्रन्थहरूमा नेपालीले लेखेका कुराहरूको उदाहरण कमै गर्नुभएको होला, विदेशीकै उदाहरण दिनुभएको होला,’ ‘मंगलबार नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपालीले लेखेको कुरालाई विद्वत्तापूर्ण ठान्दैनौँ, त्यसैले उदाहरण दिनुपर्ने आवश्यकता पनि देख्दैनौँ। जतिसुकै तर्कपूर्ण र तथ्यपूर्ण किन नहोस्, हामी विद्वान् लेखकहरू बाहिरकै मान्छौँ।’

अध्यक्ष ओलीले नेपाली समाजले आफ्नै ज्ञान, दर्शन, साहित्य र बौद्धिक योगदानको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो। स्वदेशी लेखक तथा चिन्तकका रचनालाई अध्ययन, अनुसन्धान र सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने परिपाटी विकास गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो।

अध्यक्ष ओली नेपाली लेखक तथा चिन्तकहरूसँग बसेर छलफल गर्ने कार्ययोजना बनाएको जानकारी दिँदै छिट्टै उनीहरूसँग छलफल गर्ने पनि बताउनुभयो । अध्यक्ष ओली भाषा, संस्कृति, कला र वाणीमा भिजेको व्यक्ति समाजका लागि असल तथा मानवतावादी बन्न सक्ने धारणा व्यक्त गर्नुभयो । ज्ञान धेरै हुँदैमा मानिस असल र मानवतावादी हुन्छ भन्ने सुनिश्चित नहुने उल्लेख गर्दै उहाँले त्यस्तो गुणको अभावमा व्यक्ति समाज र छिमेकीका लागि पीडादायक बन्न सक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *