काठमाडौँमा चित्रकार यादवको मिथिला चित्रकला प्रदर्शनी

काठमाडौँ, १८ जेठ । चित्रकार हरेराम यादवको मिथिला कलामा आधारित एकल चित्रकला प्रदर्शनी बबरमहलस्थित काठमाडौँ आर्ट ग्यालरीमा सुरु भएको छ। ‘सिराहादेखि काठमाडौँ’ शीर्षक दिइएको उक्त कला प्रदर्शनी आगामी जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।

चित्रकार यादवले प्राप्त गर्नुभएको ‘हिमालयन लाइट आर्ट अवार्ड’ कार्यक्रमअन्तर्गत सिर्जना गरिएका चित्रहरू यस प्रदर्शनीमा राखिएका छन्। गत बिहीबार हिमालयन लाइट आर्ट अवार्डका निर्देशक जस्टिन झाओ र वरिष्ठ चित्रकार एससी सुमनले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो।

निर्देशक जस्टिन झाओका अनुसार यो अवार्ड सन् २०१९ देखि प्रदान गर्न सुरु गरिएको हो। यसअघि पृथ्वी श्रेष्ठ, मान गुरुङ, लभकान्त चौधरी, जगदीश मोक्तान, प्रियङ्कासिंह महर्जन, सुवास तामाङ, सुरेश बस्नेत र रिती महर्जनले यो अवार्ड प्राप्त गरिसकेका छन्।

आफ्ना चित्रहरूका बारेमा जानकारी दिँदै चित्रकार यादवले तराई–मधेसको प्रसिद्ध छठ पर्व, गोवर्द्धन पूजा, सामा–चकेवा, झिझिया नृत्य जस्ता रैथाने लोकसंस्कृति र सांस्कृतिक परम्परालाई आफूले क्यानभासमा उतारेको बताउनुभयो।

सन् १९६० को दशकदेखि आधुनिक रूपमा सुरु भएको मानिने मिथिला कला परम्परागत रूपमा ग्रामीण घरका भित्तेचित्र (भित्तिचित्र) मा सीमित रहे पनि पछिल्लो समय यो कागज र क्यानभासमा व्यावसायिक रूपमा विकसित हुँदै संसारभर फैलिएको छ।