शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान र एक स्थानीय मृत फेला

डडेल्धुरा, १८ जेठ । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान र एक स्थानीय नागरिक आज मृत अवस्थामा फेला परेका छन्। नातामा मामाभान्जा रहेका उनीहरूको शव महाकाली नदी र नदी किनारका फरक–फरक स्थानमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय तीर्थबहादुर थापा मगरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा तैरिरहेको अवस्थामा फेला परेको छ। यसैगरी, परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत जवान ओमप्रकाश पुन मगरको शव भने कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा फेला परेको छ।

गत शुक्रबार दुवै जना सम्पर्कविहीन भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ‘ट्युब’ फेला परेको थियो। सोही आधारमा उनीहरू नदीमा बगेको हुन सक्ने आशङ्कासहित सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजी अभियान सञ्चालन गरेका थिए।

महाकाली नदीको तीव्र बहावले बगाएर जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पुर्‍याएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *