मिशाराको शतकमा चितवन दोस्रो क्वालिफायरमा
काठमाडौं, २ मंसिर । कमिल मिशाराको शतकीय पारी र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाण्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । चितवनका लागि मिशाराले ५९ बलमा १० छक्का र पाँच चौकासहित अविजित १२० रन बनाए । कप्तान रवि बोपाराले ५३ रन जोडे ।
२०५ रनको लक्ष्य पछ्याएको काठमाण्डुले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । उसका लागि विलियम बोसिस्टोले ३७ र भीम सार्कीले अविजित ३० रन बनाए ।
चितवनका रिजन ढकालले ४ तथा उसामा मिरले ३ विकेट लिए ।
जितसँगै चितवनले बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । उक्त खेलको विजेताले शनिबार फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
