विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइयाे
काठमाडौँ, २६ जेठ । फिफा विश्वकप २०२६ हेर्न अमेरिका र मेक्सिकोतर्फ जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। अध्यागमन विभागले उनीहरू ‘कालोसूची’ (ब्ल्याक लिस्ट) मा रहेको भन्दै आज बिहान विमानस्थलबाटै फिर्ता पठाएको हो।
मेक्सिको जाने तयारीमा रहेका उनीहरूलाई अध्यागमन अधिकारीहरूले बोर्डिङ प्रक्रियाका क्रममा रोकेका थिए। विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीका अनुसार विभागको रेकर्डमा उनीहरूलाई विदेश जान रोक लगाइएको भेटिएपछि फिर्ता पठाइएको हो।
किन रोकिए त नेम्वाङ र राई ?
एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितताको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गत वैशाखमै एन्फा पदाधिकारीहरूलाई विदेश जान रोक लगाउन अध्यागमन विभागलाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा विभागले उनीहरूलाई कालोसूचीमा राखेको हो।
फिफा विश्वकप २०२६ मा सहभागी हुनका लागि आफ्नो नाममा रहेको भ्रमण प्रतिबन्ध हटाउन अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेप पुगेका थिए। उनीहरूले आफूहरूलाई विदेश जाने बाटो खुला गरिदिन राखेप नेतृत्वलाई अनुरोध गरेका थिए। तर, राखेपले आर्थिक छानबिनको प्रक्रिया टुङ्गोमा नपुगेको भन्दै उनीहरूको अनुरोध अस्वीकार गरेको थियो।
राखेपको अनुमति बिना नै आज बिहान विमानस्थल पुगेका उनीहरू अन्ततः रित्तो हात फर्किन बाध्य भएका छन्। एन्फाभित्रको आन्तरिक विवाद र आर्थिक पारदर्शिताको विषयलाई लिएर लामो समयदेखि राखेप र एन्फाबीच टकराव चल्दै आएको छ।