मुग्लिन–मलेखु सडकखण्डमा पुनः कालोपत्रको तयारी, असार महिनाभित्र ३ किलोमिटर पिच गरिने

चितवन, २ असार । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा पुनः कालोपत्र (पिच) गर्ने तयारी गरिएको छ। अलकत्रा (बिटुमिन) को अभावमा केही समय रोकिएको कालोपत्रको काम आवश्यक कच्चा पदार्थ भित्रिएसँगै आगामी असार ५ गतेदेखि सुरु हुन लागेको हो। यसअघि यस खण्डको १३ किलोमिटर सडक कालोपत्र भइसकेको छ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्मको क्षेत्रमा कालोपत्रको तयारी थालिएको छ। “३० टन अलकत्रा आइसकेकाले आगामी असार ५ गतेबाट काम सुरु गर्नेछौँ,” उहाँले भन्नुभयो। तत्काल ७०० मिटर सडक कालोपत्र गरिने र असार महिनाभित्र कुल तीन किलोमिटर सडक कालोपत्रे गरिसक्ने आयोजनाको लक्ष्य छ।

यस सडक खण्डमा पर्ने ६ वटा पुलमध्ये वारवाङ, मौवा, खटौटी र गोमती खोलाका चारवटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ती पुलहरूलाई मुख्य सडकसँग जोड्ने पहुँचमार्ग कालोपत्र गर्ने जस्ता साना कामहरू मात्र बाँकी छन्। कुल ३८ दशमलव ८६ किलोमिटर लम्बाई रहेको यस सडक स्तरोन्नतिको समग्र भौतिक प्रगति हालसम्म ४३ प्रतिशत सम्पन्न भएको छ।

विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति भइरहेको यो खण्ड काठमाडौँ आवतजावत गर्ने मुख्य व्यापारिक नाका हो। शर्मा–जेडआइसिजी (JV) ले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँको लागतमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो। गत डिसेम्बर २८ मा निर्माण सम्झौताको निर्धारित म्याद सकिएपछि आयोजनाको काम सम्पन्न गर्न थप १८३ दिन म्याद थप गरिएको छ।