नेपालमै पहिलोपटक बाल आँखा स्वास्थ्य र अनुसन्धानसम्बन्धी एकीकृत परियोजनाको थालनी

काठमाडौँ, ८ असार । बालबालिकाको आँखा स्वास्थ्य सुधार, वैज्ञानिक अनुसन्धान तथा समग्र स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि नेपालमै पहिलोपटक एक एकीकृत परियोजना सञ्चालनमा ल्याइएको छ। नेपाल नेत्रज्योति सङ्घको अगुवाइमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ), धुलिखेल अस्पताल, इन्टरनेशनल सेन्टर फर आइ हेल्थ र लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन (एलएसएचटीएम) को संयुक्त सहकार्यमा यो परियोजना कार्यान्वयनमा ल्याइएको हो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. अनुज भट्टचन, नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा. डा. चेतराज पन्त र लन्डन स्कुलकी प्रतिनिधि डा. आयशा मल्लीकले हालै आयोजित एक समारोहमा यस परियोजनाको संयुक्त रूपमा शुभारम्भ गर्नुभएको हो।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार यस परियोजनाको मुख्य ध्येय पाँच वर्षमुनिका बालबालिकाहरूको आँखा स्वास्थ्यमा सुधार ल्याउनु र प्राथमिक स्वास्थ्य सेवा प्रणालीमार्फत दृष्टिसम्बन्धी समस्याको समयमै पहिचान गरी उपचार तथा आवश्यक प्रेषण (रिफरल) सेवा सुनिश्चित गर्नु हो।

यस परियोजनाले हाल सरकारी स्तरमा सञ्चालनमा रहेको ‘एकीकृत नवजात तथा बालरोग व्यवस्थापन (आइएमएनसिआई)’ कार्यक्रमभित्र आँखा स्वास्थ्यलाई कसरी थप प्रभावकारी रूपमा समावेश गर्न सकिन्छ भन्ने विषयमा विस्तृत अनुसन्धान तथा परीक्षण गर्नेछ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. भट्टचनले नेपालमा बाल मृत्युदर न्यूनीकरणमा कोसेढुङ्गा सावित भएको आइएमएनसिआई प्रणालीभित्रै आँखा स्वास्थ्यलाई एकीकृत गर्नु निकै सान्दर्भिक कदम भएको बताउनुभयो। उहाँले अनुसन्धानबाट प्राप्त हुने निष्कर्षका आधारमा भविष्यमा यस परियोजनालाई देशव्यापी रूपमा विस्तार गर्न मन्त्रालय सकारात्मक रहेको जानकारी दिनुभयो।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणनिधि शर्मा र परिवार कल्याण महाशाखाका निर्देशक डा. मदन उपाध्यायले बाल स्वास्थ्य सेवासँग आँखा स्वास्थ्यको एकीकरणले बालबालिकामा दृष्टिसम्बन्धी जटिलताहरू समयमै पहिल्याउन महत्वपूर्ण प्राविधिक आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। सङ्घका महासचिव भरतबहादुर चन्द र वरिष्ठ अनुसन्धानकर्ता डा. खेम पोखरेलले यो परियोजना अनुसन्धानमा आधारित नीतिगत र व्यावहारिक सुधारका लागि सहयोगी सिद्ध हुने बताउनुभयो।

नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा. डा. पन्तले सङ्घले लामो समयदेखि मुलुकभर गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आएको स्मरण गराउँदै बाल स्वास्थ्य र आँखा स्वास्थ्यको यो नयाँ एकीकरणले लाखौँ बालबालिकाको दृष्टि संरक्षणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेत्रज्योति सङ्घले हाल देशभर २८ वटा विशिष्टीकृत आँखा अस्पताल र २२६ वटा आँखा उपचार केन्द्रहरूको सञ्जालमार्फत सेवा दिँदै आएको छ।