पौडेलको गिरफ्तारी लोकतन्त्रकै उपहास, ‘काठमाडौँ जानुपर्यो सर’ भन्दै सुर्खेतबाटै किन गरियो पक्राउ ?
काठमाडौं, ९ असार । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेपछि अहिले नयाँ तरंग सिर्जना भएको छ । पाँच पटक अर्थमन्त्री र पटक–पटक अन्यमन्त्री गरी आठ पटक मन्त्री हुनु भएका उहाँलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव सङ्कलनका लागि कर्णाली प्रदेशस्तरीय कार्यक्रममा भाग लिन सुर्खेत पुगेका बेला उहाँलाई माथिको आदेश भन्दै प्रहरी पक्राउ गर्दा पौडेलले पनि चुपचाप गिरफ्तारी दिनुभयो । कोशी, लुम्बिनी, सुदूरपश्चिमको कार्यक्रम सकाएर आइतबार मात्रै सुर्खेत पुगेको टोलीमा पौडेल पनि हुनुहुन्थ्यो । त्यहि टोलीमा रहेका बेलासम्पत्ति शुद्धीकरण विभागको टोलीले सुर्खेतबाटै पक्राउ गरेको हो ।
उहाँ सुर्खेतबाटै कतै भाग्ने संभावना थिएन । उहाँ काठमाडौं फर्किने तयारीमै हुनुहुन्थ्यो । तर, उहाँलाई सरकारले यति छिटो हतार गरेर समात्यो कि त्यो भेउ कार्यकर्तातले त पत्तो पाएनन् नै स्वयं पौडेलले पनि भेउ पाउनु भएको थिएन । सादा पोशाकमा प्रहरीले उहाँलाई अनुसन्धानका लागि ‘काठमाडौँ जानुपर्यो सर’ भनेर बाहिर बोलाएका थिए भने पछि एसपीले ‘माथिको आदेशानुसार जानुपर्ने’ भयो भन्दै सोमबार करिब ५ बजेतिर नियन्त्रणमा लिइएको थियो । उहाँलाई सोमबार नै सुर्खेतबाट नेपालगञ्ज ल्याइएको छ । त्यसो त विभागले उनलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको थियो ।
प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभाग सम्बद्ध स्रोतले जानकारी दिएको छ । पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताए पनि एमालेले भने हतारको पक्राउको विरोध गरेको छ । सचिव महेश बस्नेतले लोकतन्त्रमा फरक विचार राख्ने विपक्षी नेतामाथि प्रतिशोध साँध्ने शैली स्वीकार्य नहुने भन्दै विरोध गर्नुभएको छ । उहाँले कानुनी राज्यमा कानुनको प्रक्रिया र मर्यादा पालना हुनुपर्छ भन्दै राजनीतिक पूर्वाग्रहका आधारमा गरिने गिरफ्तारीले लोकतान्त्रिक मूल्य कमजोर बनाउने उल्लेख गनुृभएको छ । ‘उपाध्यक्ष विष्णु पौडेलमाथि गरिएको व्यवहारप्रति घोर आपत्ति र भर्त्सना गर्दछ,’ उहाँले भन्नुभएको छ । त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओलीले त विज्ञप्ति नै निकालेर विरोध गर्नुभएको छ ।
उहाँले उपाध्यक्ष पौडेललाई सुर्खेतबाट गिरफ्तार गरिएको घटनालाई सरकारको ‘अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा’ भन्दै कडा विरोध गर्नुभएको छ । उहाँको हस्ताक्षरमा जारी गरेको विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैरकानुनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा चित्रित गरिएको छ । साङ्गठनिक कार्यक्रमका शिलशिलामा सुर्खेतमा रहेका पौडेललाई सरकारले ‘अपहरणको शैलीमा’ गिरफ्तार गरेको दाबी गर्दै उक्त कदमको घोर निन्दा र भर्त्सना .विज्ञप्तिमा गरिएको छ । पार्टीले विधिको शासन, कानुनी राज्य र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै वर्तमान सत्तापक्षले विपक्षी दलहरूमाथि अराजनीतिक र अलोकतान्त्रिक व्यवहार गरिरहेको आरोप पनि लगाइएको छ ।
‘उपाध्यक्ष पौडेल कार्यक्रम सम्पन्न गरी भोलिपल्ट काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिकामा रहेको अवस्थामा सामान्य कानुनी प्रक्रियाअनुसार सोधपुछ वा अनुसन्धान गर्न सकिने अवस्था हुँदाहुँदै गिरफ्तार गरिएको छ। सार्वजनिक पदमा रहिसकेका र कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई ‘सस्तो राजनीतिक खपत’ का लागि लक्षित गरिएकोछ,’ विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेको श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।’
अहिले एमाले मात्रै होइन पौडेलको गिरिफ्तारीलाई लिएर लोकतन्त्रवादी दलहरुले पनि विरोध गरेकाछन् ।