उपाध्यक्ष विष्णु पौडेललाई सुनियोजित ढङ्गले पक्राउ गरिएको एमालेको ठहर
काठमाडौं, ९ असार । नेकपा (एमाले) संसदीय दलले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सुनियोजित ढङ्गले पक्राउ गरिएको भन्दै संसद्मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।
मङ्गलबार पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमाले सांसद गुरु बरालले उपाध्यक्ष पौडेलको गिरफ्तारीलाई ‘सुनियोजित’ र ‘विधिको शासन विपरीत’ को कदम संज्ञा दिनुभयो ।
बैठकपछि सांसद बरालले भन्नुभयो– ‘उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी सुनियोजित र विधिको शासन विपरीत हो। यसको विरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्छ।’
प्रमुख सचेतक ऐन महरका अनुसार बैठकले सात बुँदे प्रस्ताव पनि पारित गरेको छ। उनले पौडेलको पक्राउलाई प्रतिशोधपूर्ण, अपमानजनक र गैरकानुनी भएको भन्दै अविलम्ब रिहाइको माग गरिएको बताउनुभयो । संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा सांसदहरूलाई ब्रिफिङ गर्नुभएको थियो ।