अमेरिकाबाट नेपालका दुई अमूल्य प्राचीन मूर्ति फिर्ता : न्युयोर्कमा विशेष समारोह बिच हस्तान्तरण
काठमाडौँ, १० असार । नेपालबाट विभिन्न समयमा चोरी भई अवैध रूपमा अमेरिका पुर्याइएका दुईवटा अत्यन्तै महत्वपूर्ण एवं ऐतिहासिक मूर्तिहरू नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक विशेष समारोहका बिच न्युयोर्कको म्यानहटनस्थित सरकारी वकिलको कार्यालयले १३औँ शताब्दीको पद्मपाणी र १६औँ शताब्दीको नृत्यदेवीको मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारी र म्यानहटन सरकारी वकिलको कार्यालयअन्तर्गत ‘पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइ’का प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो ।
महावाणिज्यदूतावासद्वारा जारी विज्ञप्ति अनुसार, फिर्ता गरिएको १३औँ शताब्दीको कास्य निर्मित पद्मपाणीको मूर्ति काठमाडौँको ठमेलस्थित विक्रमशील महाविहार (भगवान बहाल) को अनुपम कलाकृति हो । अभिलेख अनुसार सन् १९७१ सम्म सोही स्थानमा रहेको यो मूर्ति सन् १९७१ देखि १९७७ को अवधिमा चोरी भई अवैध मार्गबाट अमेरिका पुर्याइएको थियो ।
त्यसैगरी, १६औँ शताब्दीको काठबाट निर्मित नृत्यदेवीको मूर्ति ललितपुरको इबहा बहीको उत्कृष्ट काष्ठकलाको नमुना मानिन्छ । यो मूर्ति सन् १९६९ देखि १९८३ को बीचमा चोरी भएको र पछि न्युयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टबाट बरामद गरिएको थियो ।
यी पुरातात्विक सम्पदाहरू न्युयोर्क सरकारी वकिलको कार्यालयले अमेरिकी गृह सुरक्षा अनुसन्धान निकाय र अन्य साझेदार संस्थाहरूसँगको समन्वयमा खोजी गरी बरामद गरेको हो ।
समारोहलाई सम्बोधन गर्दै महावाणिज्यदूत भण्डारीले नेपालको सांस्कृतिक सम्पदा फिर्ता गराउन सहयोग गर्ने अमेरिकी सरकार, अनुसन्धानकर्ता, सङ्ग्रहालय र सम्पदा अभियन्ताहरूप्रति आभार प्रकट गर्नुभयो । उहाँले सम्पदाको अवैध ओसारपसार नियन्त्रणमा नेपाल र अमेरिकाबीचको यो सहकार्य अन्तर्राष्ट्रिय साझेदारीको उत्कृष्ट नमुना भएको उल्लेख गर्नुभयो । उहाँले यस अभियानमा सक्रिय भूमिका खेल्ने न्युयोर्कस्थित नेपाली समुदाय, विशेषगरी नेवा गुठीलाई धन्यवाद दिनुभयो ।
फिर्ता गरिएका मूर्तिहरू आगामी जुन २५ मा नेपाल पठाइने तयारी गरिएको छ । यसको ढुवानी र व्यवस्थापनमा महावाणिज्यदूतावास र नेवा गुठी न्युयोर्कले समन्वय गर्नेछन् भने गुठीका प्रतिनिधिहरूले सम्पदाको सुरक्षाका लागि स्वदेशसम्म साथमै यात्रा गर्नेछन् । काठमाडौँ आइपुगेपछि यी मूर्तिहरूलाई आवश्यक प्रक्रिया पूरा गरी पुरातत्व विभागलाई हस्तान्तरण गरिनेछ ।
समारोहमा अमेरिकी सुरक्षा निकायका अधिकारीहरू, कलासंस्कृति विज्ञहरू, सम्पदा संरक्षणकर्मी र नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।