विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको सङ्केत

एजेन्सी, २२ असार । ब्राजिलियन स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने सङ्केत गरेका छन्। विश्वकपको अन्तिम १६ को खेलमा नर्वेसँग २–१ गोल अन्तरले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको सङ्केत दिएका हुन्।

अमेरिकाको मेटलाइफ स्टेडियममा भएको खेलमा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए। तर, नर्वेका स्ट्राइकर अर्लिङ हालान्डले दुई गोल गरेपछि ब्राजिलको पुनरागमन प्रयास सफल हुन सकेन र टोली प्रतियोगिताबाट बाहिरियो।

खेल सकिएलगत्तै भावुक बनेका नेयमारले ब्राजिलको सञ्चारमाध्यम ‘ग्लोबो एस्पोर्टे’ सँग कुरा गर्दै भने, “मैले निकै प्रयास गरेँ। तर अब यो यात्रा समाप्त भएको छ। मेरो अन्तर्राष्ट्रिय फुटबल यात्रा जुन मैदानबाट सुरु भएको थियो, आज यहीँ अन्त्य भयो।”

ब्राजिलका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका नेयमारले सन् २०१० मा यसै मेटलाइफ स्टेडियममा अमेरिकाविरुद्धको खेलमा डेब्यु गर्दै राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका थिए। आफ्नो पहिलो गोल गरेको मैदानमै सम्भावित अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नु नेयमारका लागि एक विशेष संयोग बनेको छ।

पछिल्लो समय चोटका कारण लगातार मैदानबाहिर रहँदै आएका बार्सिलोना र पेरिस सेन्ट–जर्मेन (पीएसजी) का यी पूर्व खेलाडी हाल ब्राजिलकै रैथाने क्लब सान्तोसबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। चोटकै कारण यस विश्वकपका सुरुवाती दुई खेल गुमाएका उनी स्कटल्यान्डविरुद्धको खेलबाट मैदान फर्किएका थिए। अक्टोबर २०२३ पछि राष्ट्रिय टोलीमा उनको यो पहिलो पुनरागमन थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *