साउनको पहिलो सोमबार पशुपतिमा हिन्दु धर्मावलम्बीहरूको घुइँचो

काठमाडौँ, ४ साउन । हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना साउनको पहिलो सोमबार आज काठमाडौँस्थित आराध्यदेव पशुपतिनाथसहित मुलुकभरका शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको व्यापक उपस्थिति देखिएको छ। साउने झरी र प्रतिकूल मौसमका बाबजुद बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनहरूको ओइरो लागेको हो।

पशुपति क्षेत्र विकास कोषका अनुसार, भक्तजनको चापलाई मध्यनजर गर्दै आज बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ। कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिएअनुसार, दर्शनार्थीहरूको सहजताका लागि चारवटा छुट्टाछुट्टै लामको व्यवस्था गरिएको छ।

मन्दिरका ढोकाहरू बेलुकाको आरतीपछि राति ८:०० बजेसम्म खुला रहनेछन्। यस्तै, ‘विशेष पूजा’ का लागि बिहान ८:३० देखि मध्याह्न १२:०० बजेसम्मको समयसीमा निर्धारण गरिएको छ । भीड नियन्त्रण र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बृहत् सुरक्षा योजना कार्यान्वयन गरिएको छ। सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना, काठमाडौँ महानगर प्रहरी र विभिन्न सामाजिक तथा धार्मिक सङ्घ–संस्थाका स्वयंसेवकहरू परिचालन गरिएको छ ।

पशुपति क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचारका लागि ‘प्राथमिक उपचार केन्द्र’ र अन्य आधारभूत सुविधाहरूको समेत प्रबन्ध मिलाइएको छ। कोषका सदस्य सचिव श्रेष्ठले व्यवस्थापनलाई चुस्त बनाउने प्रयास गरिए पनि केही व्यावहारिक कठिनाइहरू रहेको स्वीकार गर्नुभएको छ। “पदाधिकारीहरूको नियुक्तिमा भएको ढिलाइ र कोषमा रहेको जनशक्तिको अभावका कारण सोचे अनुरूपको उच्च स्तरको व्यवस्थापनमा केही चुनौतीहरू देखिएका छन्,” उहाँले भन्नुभयो। यद्यपि, उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरी भक्तजनलाई मर्यादित वातावरणमा दर्शन गराउन कोष प्रतिबद्ध रहेको उहाँको दाबी छ।

पशुपतिनाथका अतिरिक्त काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित ‘सानो पशुपतिनाथ’ (मक्खन महादेव) मा पनि बिहानैदेखि भक्तजनको ताँती लागेको छ। उपत्यका बाहिरका हलेसी, पिण्डेश्वर, बोलबम धाम र अन्य स्थानीय शिव मन्दिरहरूमा समेत श्रावणी सोमबारको विशेष रौनक देखिएको छ।