झापाका दुई सय विद्यार्थीलाई विपद् व्यवस्थापन र सर्पदंश रोकथामसम्बन्धी अभिमुखीकरण
झापा, ५ साउन । झापाका विभिन्न विद्यालय तथा क्याम्पसका २०० जना विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथामसम्बन्धी सचेतना एवं व्यावहारिक प्रदर्शन कार्यक्रम आयोजना गरिएको छ।
अन्तर्राष्ट्रिय झापाली समाजको सहयोग तथा एनसिसी अलुम्नी एसोसिएसन झापाको समन्वयमा चारआलीस्थित नेपाली सेनाको अरिदमन गण ब्यारेकमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाली सेना र एनसिसी अलुम्नी एसोसिएसनका प्रतिनिधिहरूले विपद् व्यवस्थापन तथा सर्पदंशको प्राथमिक उपचारका विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिएका थिए।
प्रशिक्षणका क्रममा विपद्को समयमा अपनाउनुपर्ने सुरक्षा सावधानी, उद्धारका आधारभूत उपायहरू तथा सर्पले टोकेको अवस्थामा गर्नुपर्ने प्राथमिक उपचारका विषयमा प्रयोगात्मक रूपमा सिकाइएको थियो।
चारआलीस्थित अरिदमन गणका प्रमुख सेनानी सरोज थापा र अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाईँको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। एनसिसी अलुम्नी एसोसिएसन झापाकी जिल्ला निर्देशक रेजिना बनले यस प्रकारको कार्यक्रमले युवा पुस्तामा विपद्को सामना गर्ने क्षमता र जनचेतना अभिवृद्धि गर्न टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख सेनानी सरोज थापाले नेपालमा प्राकृतिक विपद् तथा सर्पदंशका घटनाहरू बढ्दो क्रममा रहेकाले युवा वर्गलाई समयमै सचेतना र व्यावहारिक सीप प्रदान गर्नु अपरिहार्य रहेको बताउनुभयो।