लायन्स क्लब अफ काठमाडौं शुभ ताराले गर्याे रक्तदान कार्यक्रम, १०३ पटक रक्तदान गर्ने बज्राचार्यले गरे उद्घाटन

काठमाडौँ, १६ साउन । लायन्स क्लब अफ काठमाडौं शुभ ताराले राजधानीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ‘रक्तदान जीवनदान’ भन्ने नारा संगै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ, नेपाल अन्तर्गतको क्लब शुभ ताराले शुक्रबार जोरपाटीस्थित नारायणटारमा रहेकाे खगेन्द्र नवजीवन माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे ।

१०३ पटक रक्तदान गर्नुभएका रक्तदाता पुण्य रत्न बज्राचार्यले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। रक्त अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं शुभ ताराका संस्थापक अध्यक्ष राजेश हिमालयले बताउनुभयो। उहाँले भन्नुभयो, “समाजमा रक्तदानप्रति सकारात्मक चेतना फैलाउन हामी सक्रिय छौँ। रक्तदान केवल सामाजिक उत्तरदायित्व मात्र नभई मानव जीवनप्रतिको उच्च सम्मान र करुणाको प्रतीक हो।”

लायन्स क्लब अफ काठमाडौं शुभ ताराका अध्यक्ष सुसिला श्रेष्ठले क्लबले हरेक वर्ष रक्तदान मात्र नभइ अन्य सामाजिक कार्यक्रम पनि गर्ने बताउनुभयाे । उहाँले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवाका रूपमा व्याख्या गर्दै नियमित रक्तदानले बिरामीको ज्यान बचाउनुका साथै दाताको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयाे ।

संस्थापक अध्यक्ष राजेश हिमालय र हालका अध्यक्ष सुसिला श्रेष्ठले विगतमा पनि विभिन्न विद्यालय पुगेर विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्री झाेलालगाएत खेलकुदका सामग्रीहरू वितरण गरिसकेका छन् । उहाँहरूले आउँदा दिनहरूमा पनि क्लब मार्फत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई सहयाेग गर्ने बताउनुभएका छन् ।

कार्यक्रममा ३१ पिन्ट रगत सङ्कलन भएको अध्यक्ष श्रेष्ठले जनाएका छन् । लायन्स क्लब अन्तर्गत विभिन्न शाखा क्लबहरूले मानविय सहयाेगका लागि रक्तदान कार्यक्रम आयाेजना गर्ने गरेका छन् । क्लबले यही वर्षमा पुन: रक्तदान कार्यक्रम आयाेजना गर्ने जनाइएकाे छ भने कार्यक्रममा लायन भुवन नेपाल, इन्द्र बहादुर कार्की, सुमन सिंह थापा, चाँदनी घिमिरे, शोभा बेल्बासे, आदित्य जोशी, आकाश श्रेष्ठ र अमृत घले लगायतका लायन लिडर तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *