बाढीले सुस्ता पुर्याएको गैँडा उद्धार गरी कसरा ल्याइँदै
चितवन राष्ट्रिय निकुञ्ज
चितवन, १३ असोजः नारायणी नदीमा आएको बाढीले बगाएर नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुस्ता पुर्याएको गैँडालाई उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जको कसरा ल्याउने तयारी गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को प्राविधिक टोलीले गैँडालाई ‘डार्ट’ गरी उद्धार गर्न लागेको हो । उद्धारका लागि हात्तीसहितको टोली सुस्ता पुगेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा अमित सडौलाको नेतृत्वमा टोली सोमबार नै सुस्ता पुगेको थियो । आज दिउँसो नवलपरासीको लौघारीबाट दुईवटा हात्ती पुगेपछि गैँडालाई नियन्त्रणमा लिने तयारी गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार गैँडालाई डार्ट गरी नियन्त्रणमा लिएपछि ट्रकमार्फत कसरा ल्याइनेछ । झाडीमा रहेकाले गैँडाको उमेर र लिङ्ग यकिन गर्न नसकिए पनि टाढाबाट गरिएको अवलोकनका आधारमा करिब पाँच वर्षको पोथी गैँडा हुनसक्ने प्राविधिकको अनुमान छ ।
नारायणी नदीमा आएको ठूलो बाढीका कारण गैँडा नदी तटीय क्षेत्रबाट बगेर सुस्ता गाउँपालिका–४ पुगेको हो । हालसम्म बाढीले बगाएर सुस्ता पुगेको एउटा गैँडाको मात्रै जानकारी प्राप्त भएको भए पनि अन्य गैँडा तथा वन्यजन्तु पनि बाढीले बगाएर भारततर्फ पुगेको हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि २०७४ साल साउन २८ गते राप्ती र नारायणी नदीमा आएको ठूलो बाढीका क्रममा पनि चितवनबाट धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमिमा पुगेका थिए । तत्कालीन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा रामचन्द्र कँडेलका अनुसार त्यसबेला भारतीय भूमिमा पुगेका १२ वटा गैँडाको उद्धार गरी नेपाल ल्याइएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार ६९४ वटा गैँडा रहेका छन् ।
ट्रेन्डिङ
सबै
१
३
४
सम्बन्धित खबर
मध्यपहाडी लोकमार्ग अन्तर्गत मालढुङ्गाको पुल भत्किएपछि बिरामीदेखि यात्रुसम्मलाई सास्ती
