नेप्से ९ अंकले घट्यो, कारोबार रकम साढे ४ अर्बमा सीमित

काठमाडौं, १३ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । सोमबार १६ अंकभन्दा बढीले घटेको बजारमा मंगलबार थप ९.६२ अंकको गिरावट आएको हो ।

मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १.०१ अंक, फ्लोट इन्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४३ अंकले घटेका छन् । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ३८ करोड रुपैयाँबराबरको कारोबार भएकोमा मंगलबार ३६३ स्टकको ५१ हजार २७४ पटकको कारोबारमा ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड १० लाख ६९ हजार कित्ता शेयर किनबेच भएको छ ।

मंगलबार १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सर्वाधिक ९.१८ प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी र ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य करिब ६.५ प्रतिशतले बढेको छ । यस दिन कारोबारमा आएको सिटिजन्स सुपर ३० म्युचुअल फन्डको इकाईमूल्य सर्वाधिक ५.४४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा मंगलबार हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । कम्पनीको २२ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको १७ करोड रुपैयाँभन्दा बढी र सिद्धार्थ बैंकको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

यस दिन १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढ्दा ११ उपसमूह घटेका छन् । निर्जीवन बीमा र अन्य उपसमूह सामान्य अंकले बढेका छन् । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *