भोटेकोशी बाढीपीडितका लागि लेखापढी व्यवसायी एसोसिएसन भक्तपुरद्वारा रु. २ लाख ५०० सहयोग

भक्तपुर । नेपाल लेखापढी व्यवसायी एसोसिएसन जिल्ला समिति, भक्तपुरले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख ५०० आर्थिक सहयोग जम्मा गरेको छ।

गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा अकल्पनीय रूपमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति समितिले गहिरो दुःख व्यक्त गरेको छ। विपद्को यस त्रासदीपूर्ण तथा पीडादायी घटनामा ज्यान गुमाउनेहरूप्रति समितिले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ, साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

समितिका अध्यक्ष रामशरण राणाका अनुसार भोटेकोशी–रसुवामा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिले सबैलाई मर्माहत बनाएको भन्दै पीडित परिवारको पीडामा मलम लगाउने मानवीय भावनासहित नेपाल लेखापढी व्यवसायी एसोसिएसन जिल्ला समिति, भक्तपुरको तर्फबाट रु. ५७,००० सहयोग गरिएको छ। साथै समितिमाथि विश्वास गर्दै लेखापढी व्यवसायी तथा शुभेच्छुकहरूले आ-आफ्नो गच्छेअनुसार प्रदान गरेको रु. १,४३,५०० समेत गरी जम्मा रु. २,००,५०० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाएको छ।

अध्यक्षराणा ले यो रकम केवल आर्थिक सहयोग मात्र नभई विपद्मा परेका परिवारप्रति आफूहरूको एकजुटता, सद्भाव र मानवीय संवेदनाको प्रतीक भएको बताए। समितिमाथि विश्वास गरी सहयोग गर्ने सम्पूर्ण लेखापढी व्यवसायी तथा शुभेच्छुकप्रति समितिले हार्दिक आभार व्यक्त गरेको छ।

साथै यस राष्ट्रिय विपद्मा मानवीय दायित्व वहन गर्दै आ-आफ्नो क्षेत्रबाट सम्भव भएसम्मको सहयोग पुर्‍याउन समितिले सबै लेखापढी व्यवसायी तथा शुभेच्छुकसँग हार्दिक अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *