त्रियुगा नगरका १५० जनामा मोतियाबिन्दु, ३५ जनाको शल्यक्रिया सम्पन्न
उदयपुर, ६ मङ्सिर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा १५० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ । शिविरमा परीक्षण गरिएका एक हजार ४०० जनामध्ये १५० जनामा मोतियाबिन्दु देखिएको हो ।
त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको समन्वयमा स्थानीय विद्यालयमा तीनदिने आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरिएको थियो । विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका र सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा एक हजार ४०० जनाले सेवा लिएका थिए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कार्कीका अनुसार सेवा लिनेमा ८०५ जना विद्यार्थी र बाँकी अभिभावक, शिक्षकशिक्षिका तथा स्थानीय सर्वसाधारण रहेका छन् । शिविरमा २१ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको छ ।
मोतियाबिन्दु पहिचान भएका बिरामीमध्ये बिहीबार र शुक्रबार गरी ६९ जनालाई शल्यक्रियाका लागि चौधरी आँखा अस्पताल लहान पठाइएको थियो । तीमध्ये पहिलो र दोस्रो दिन पहिचान भएका ३५ जनाको शुक्रबार नै शल्यक्रिया सम्पन्न भएको छ । शल्यक्रिया गर्न बाँकी तथा अन्तिम दिन पहिचान भएका ३४ जनालाई पनि उपचारका लागि अस्पताल पठाइएको नगरपालिकाले जनाएको छ ।
कार्कीका अनुसार बाँकी ५१ जना बिरामीको पनि आइतबारसम्म निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ । चस्मा प्रयोग गर्दा पनि दृष्टिमा सुधार नहुने बिरामीलाई अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो ।
चौधरी आँखा अस्पताल लहानका चिकित्सक डा. विनय कामतको नेतृत्वमा खटिएको टोलीले विद्यालयमै पुगेर परीक्षण तथा उपचार सेवा प्रदान गरेपछि विद्यार्थी, अभिभावक र स्थानीय सर्वसाधारणलाई सहज भएको विद्यालयले जनाएको छ ।
