गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवा, ६ मङ्सिर । रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा तथा धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।

समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विगतमा विशेष पर्व तथा मेलाका अवसरमा मात्रै यात्रुको चहलपहल हुने गरेकामा पछिल्लो समय वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन्। सडक सञ्जालको विस्तारसँगै पदमार्गमा होटल तथा लजको सुविधा थपिएपछि विभिन्न याममा गोसाइँकुण्ड पुग्न सहज भएको स्थानीय व्यवसायी बताउँछन्।

काठमाडौँबाट सवारीसाधनमा रसुवाको सदरमुकाम धुन्चेसम्म पुगेर त्यहाँबाट करिब दुई दिनको पैदलयात्रामा गोसाइँकुण्ड पुग्न सकिन्छ। काठमाडौँको सुन्दरीजल तथा नुवाकोटको समुद्रटार हुँदै जाने वैकल्पिक पदमार्गसमेत सञ्चालनमा छन्।

पदमार्गमा खानेबस्ने सुविधा सहज भएपछि बाह्रै महिना पदयात्री आउन थालेको खेन्दीकी होटल व्यवसायी सृजना घलेले बताउनुभयो। उहाँका अनुसार पहिले मेलापर्वका समयमा मात्र पर्यटकको चहलपहल हुने गरेकामा अहिले वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।

धुन्चेका होटल व्यवसायी विशाल घलेका अनुसार सामान्य अवस्थामा दैनिक करिब १०० जना पर्यटक यस क्षेत्रमा आउने गरेका छन्। केही दिन पर्यटकको सङ्ख्या अझ बढ्ने गरेको उहाँले बताउनुभयो। गत भदौ १० गते आएको बाढीका कारण बाटो तथा केही संरचनामा क्षति पुगेपछि पर्यटक आगमन प्रभावित भए पनि अहिले पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थालेको उहाँको भनाइ छ।

मिनी गोसाइँकुण्डमा होटल व्यवसाय गर्दै आउनुभएकी सीता देवकोटाले पनि बाढीपछि केही समय व्यवसाय प्रभावित भए पनि अहिले पर्यटक आगमन सामान्य बन्दै गएको बताउनुभयो। उहाँका अनुसार यात्राका क्रममा धैबुङको दहीचिउरा, धुन्चेको बसाइ तथा चन्दनबारीको प्राकृतिक सौन्दर्यले यात्रुलाई थप आकर्षित गर्ने गरेको छ।

धार्मिक मान्यताअनुसार गोसाइँकुण्डमा स्नान गर्दा सम्पूर्ण देवीदेवताको दर्शन हुने विश्वास छ। पौराणिक कथनअनुसार समुद्रमन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि उत्पन्न जलन शान्त पार्न भगवान् शिवले त्रिशूलले जमिनमा प्रहार गर्दा निस्किएको जलबाट गोसाइँकुण्ड बनेको विश्वास गरिन्छ।

स्थानीय पुरोहित टङ्कप्रसाद ढकालका अनुसार कुण्डमा स्नान गर्दा रोगव्याधि हट्ने र घरमा सुखशान्ति प्राप्त हुने धार्मिक विश्वासका कारण श्रद्धालुहरू नीलाद्री पर्वत पुगेर शिवको पूजाआराधना गर्ने तथा वरदान माग्ने परम्परा रहिआएको छ।

गोसाइँकुण्डको ऐतिहासिक महत्वसमेत रहेको छ। नेपाल–अङ्ग्रेज युद्धपछि भएको सुगौली सन्धिबाट नेपालको हित नभएको पीडामा राष्ट्रिय विभूति अमरसिंह थापाले गोसाइँस्थानमा देहत्याग गरेको इतिहास रहेको पुरोहित ढकालले बताउनुभयो। उहाँका अनुसार थापाले गोसाइँकुण्डको दक्षिणतर्फको भिरमा रहेको गुफामा अन्तिम समय बिताउनुभएको थियो।

प्रत्येक वर्ष १० हजारभन्दा बढी भक्तजन तथा पदयात्रीले गोसाइँकुण्ड क्षेत्रको भ्रमण गर्ने गरेका छन्। धार्मिक आस्था राख्ने यात्रुहरूले यात्रा सुरु गर्नुअघि घरका कुलदेवताको बिदा माग्ने, वेत्रावती नदीमा केश मुण्डन गर्ने तथा गङ्गापूजा गर्ने प्रचलन रहेको छ। यात्राका क्रममा ‘ॐ नमः शिवाय’ जप्दै सुलाद्री पर्वत (लौरीविनायक) आरोहण गरी लौरी चढाउने परम्परासमेत कायम छ।

जुनसुकै मौसममा पदयात्रा गर्न सकिने भए पनि लौरीविनायकभन्दा माथिल्लो क्षेत्रमा वनस्पति नपाइने र अक्सिजनको मात्रा कम हुने भएकाले लेक लाग्ने जोखिम हुने स्थानीयवासी बताउँछन्। त्यसैले यात्राका क्रममा पर्याप्त पानी तथा ग्लुकोज सेवन गर्न, चिकित्सकको परामर्शअनुसार आवश्यक औषधि बोक्न तथा स्वास्थ्यमा समस्या देखिए सावधानी अपनाउन सुझाव दिइएको छ।

धार्मिक, ऐतिहासिक तथा प्राकृतिक विविधता समेटिएको गोसाइँकुण्ड पछिल्लो समय बाह्रै महिना पदयात्रा र भ्रमण गर्न सकिने महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *