प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार
वीरगञ्ज, ६ मङ्सिर । पर्सा जिल्लामा गत कात्तिक महिनामा विभिन्न प्रकृतिका ११८ अपराधका घटना दर्ता भएका छन् । प्रहरीले सोही अवधिमा फरार प्रतिवादी तथा विभिन्न मुद्दामा संलग्न १२२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार दर्ता भएका घटनामध्ये आर्थिक अपराधका ४९, सङ्गठित तथा सामाजिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका आठ, चोरीका आठ, बालबालिकासम्बन्धी चार, सवारी ज्यानका दुई र अन्य प्रकृतिका १४ रहेका छन् ।
यसै अवधिमा अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका ८५ जना पक्राउ परेका छन् । उनीहरूबाट ३२ लाख सात हजार ६३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने अदालतको फैसला रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले लागुऔषधसम्बन्धी १४ मुद्दा दर्ता गरी १७ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट गाँजा, ब्राउनसुगर, चरेस तथा विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ ।
लागुऔषध दुरुपयोग नियन्त्रण तथा सचेतनाका लागि प्रहरीले ३१ कार्यक्रम सञ्चालन गरी ५१४ जनालाई सचेतना दिएको जनाएको छ ।
अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न जिल्लाका विभिन्न स्थानमा सिसिटिभी जडान, डिजिटल निगरानी, नियमित गस्ती, सीमा क्षेत्रमा निगरानी तथा मोबाइल क्विक रेस्पोन्स टोली परिचालन गरिएको प्रहरीको भनाइ छ ।
त्यस्तै, आपराधिक पृष्ठभूमि भएका व्यक्तिको विगतका गतिविधिका आधारमा ३५ वटा प्रोफाइलसमेत तयार गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।
