कर्णाली करिडोरमा पहिरो पन्छाउन समस्या : यात्रु जोखिम मोलेर आवतजावत गर्न बाध्य

काठमाडौँ, असोज ६ । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका २ रिप नजिकैको छारेभिरमा पहिरोसँगै खसेका ठूला ढुङ्गा पन्छाउन समस्या भएको छ । दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला ढुङ्गा थुप्रिएका कारण करिडोरमा यातायात सञ्चालन प्रभावित भएको हो ।

हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार पहिरो खस्ने क्रम अझै नरोकिएकाले सडक खुलाउन थप चुनौती भएको छ । सडकमा खसेका ठूला ढुङ्गा सामान्य स्काभेटरबाट हटाउन नसकिने भएपछि ड्रिल मेसिन प्रयोग गरी विस्फोट गराएर ढुङ्गा फुटाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

“ठूला ढुङ्गा खसेकाले स्काभेटरबाट मात्रै हटाउन सम्भव देखिएन। ड्रिल मेसिन प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ,” आयोजना प्रमुख नेपालीले भन्नुभयो ।

उहाँका अनुसार ढुङ्गा विस्फोट गराउन आवश्यक प्राविधिक तथा अन्य तयारी भइरहेको छ । मौसम अनुकूल नभए वा अन्य प्राविधिक समस्या आएमा सडक सञ्चालनमा ल्याउन अझै करिब एक साता लाग्न सक्ने देखिएको छ । सडक खुलाउन आवश्यक बजेट व्यवस्थापनको कामसमेत भइरहेको जनाउँदै आयोजनाले प्राविधिक टोली तथा आवश्यक उपकरण परिचालन गरी कामलाई निरन्तरता दिएको जनाएको छ ।

सडक अवरुद्ध भएपछि यात्रुहरू वैकल्पिक बाटोबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । स्थानीय कमल बुढाका अनुसार यात्रुहरूले सडकको भिरतर्फ डोरी बाँधेर भर्‍याङ बनाई त्यसैको सहायताले वारपार गरिरहेका छन् ।

ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक रिमिलाल बुढाले पनि निकै कठिन यात्रा गरेर सदरमुकाम सिमकोट पुगेको बताउनुभयो। जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग सम्पर्क गर्दा तत्काल सडक सञ्चालनको विकल्प नदेखिएपछि भर्‍याङ र डोरीको सहायताले भिर पार गर्नुपरेको उहाँले बताउनुभयो ।

“अन्तिम विकल्पका रूपमा भर्‍याङ लगाएर डोरीको सहायताले भिर छिचोलेर निकै कष्टकर र जोखिमपूर्ण यात्रा गर्दै सदरमुकाम सिमकोट पुगेका हौँ,” उहाँले भन्नुभयो ।

पहिरोका कारण कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। शुक्रबार दिउँसोदेखि सडक अवरुद्ध भएपछि सिमकोट हुँदै सुर्खेत-नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट र कैलाश मानसरोवर दर्शनका लागि जाने यात्रुहरू समेत बाटोमै अलपत्र परेका छन् ।

आयोजना प्रमुख नेपालीले सडक खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालन भइरहेको जनाउँदै पहिरोको जोखिम कायमै रहेकाले यात्रुहरूलाई भिरबाट जोखिम मोलेर आवतजावत नगर्न आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *