प्रतिकूल मौसमले हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
काठमाडौं, ९ असाेज । प्रतिकूल मौसमका कारण काठमाडौंसहित देशका विभिन्न विमानस्थलमा हवाई उडान प्रभावित भएका छन्। भिजिबिलिटी कम भएपछि तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडान प्रभावित भएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबार केही विमानस्थलमा भिजिबिलिटीको समस्या देखिएको छ। खराब मौसमका कारण तुम्लिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ।
भरतपुरका लागि बुद्ध एयरका तीनवटा उडानसमेत रद्द भएका छन्। पोखरा विमानस्थलमा भने मौसम अनुकूल हुने प्रतीक्षामा केही उडान डिले भएका छन्।
अन्य गन्तव्यतर्फका आन्तरिक उडान भने सञ्चालनमा रहेको जनाइएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय उडानतर्फ भने हालसम्म कुनै ठूलो असर नपरेको विमानस्थल स्रोतले जनाएको छ। मौसममा आएको सुधारअनुसार प्रभावित उडानहरू पुनः सञ्चालन हुने जनाइएको छ।
