थुनिएको मस्र्याङ्दी नदी खुलाउन थालियो, ठूला चट्टान फुटाउन विस्फोटको तयारी
मनाङ, १३ असोज । अविरल वर्षापछि घट्टेखोलामा लेदोसहितका ठूला ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मस्र्याङ्दी नदी खुलाउन काम सुरु गरिएको छ । नदी थुनिएर बनेको तालका कारण आसपासका बस्ती डुबानमा परेपछि स्थानीय स्रोतसाधन प्रयोग गरी नदीको बहाव पुरानै धारमा फर्काउने प्रयास थालिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार नदीले धार परिवर्तन गरे पनि अहिले आंशिक रूपमा पानी बगिरहेको छ । उपलब्ध एक्साभेटरलगायत उपकरण प्रयोग गरी नदीमा अड्किएका ढुङ्गा तथा अन्य सामग्री हटाउने काम सुरु गरिएको छ ।
ठूला चट्टान रहेकाले तिनलाई फुटाउन विस्फोट गराउने तयारीसमेत भइरहेको पौडेलले जानकारी दिनुभयो । वरपरका क्षेत्रमा थप क्षति नपुग्ने गरी विस्फोट गराएर नदीको बहाव पुरानै अवस्थामा फर्काउने विषयमा अध्ययन भइरहेको उहाँले बताउनुभयो ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनबाट नदीको बहाव खुलाउन सकिए प्रभावित स्थानीयलाई छिट्टै घर फर्काउन सकिने बताउनुभयो ।
विस्फोट गराएर चट्टान फुटाउँदा मस्र्याङ्दीको तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । एक्साभेटरबाट अड्किएका ढुङ्गा हटाउन सकिए तटीय क्षेत्रमा हुन सक्ने क्षति कम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
लमजुङ हिमालको शिरतर्फ रहेको घट्टेखोलामा लेदोसहितका ठूला ढुङ्गा खसेपछि मस्र्याङ्दी नदी थुनिएको हो । नदी खुलाउन सकिए स्थानीयमा रहेको त्रास कम हुनुका साथै जनजीवन सहज बन्ने प्रशासनको अपेक्षा छ ।
बाढीपहिरोका कारण मनाङका प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी, टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध छन् । सडक सञ्जालसमेत पूर्ण रूपमा अवरुद्ध हुँदा आवतजावत प्रभावित भएको छ ।
ङिस्याङ गाउँपालिका–४ हुम्देमा बाढीपहिरोका कारण आसपासका बस्तीमा पानी र हिलो घरभित्र पसेको छ । सब्जे खोलाबाट सञ्चालन हुँदै आएको लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति पुगेपछि विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ ।
यसअघि २०७८ सालमा पनि घट्टेखोला, ठाडोखोला र मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो ।
