इन्द्रध्वजपातनसँगै आठदिने इन्द्रजात्रा सम्पन्न, राष्ट्रपतिद्वारा कुमारीसँग टीका–प्रसाद ग्रहण

काठमाडौँ, १४ असोज । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा बुधबार राति इन्द्रध्वजपातन अर्थात् लिङ्गो ढालिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ। हनुमानढोका दरबार क्षेत्रमा राति ९ः२५ बजेको साइतमा इन्द्रजात्राको लिङ्गो ढालिएको गुठी संस्थानले जनाएको छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको जात्रा आठ दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित मनाइएको थियो।

जात्राको अन्तिम दिन दिउँसो महिलाले मात्र श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ तानेर ‘नानीचा यात्रा’ सम्पन्न गरेका थिए। यसलाई इन्द्रजात्राको अन्तिम रथयात्राका रूपमा लिइन्छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोका दरबार क्षेत्र पुगेर श्रीगणेश, श्रीभैरव र श्रीकुमारीबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो। परम्पराअनुसार टीका तथा प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने विधि पनि सम्पन्न गर्नुभएको थियो।

इन्द्रजात्राको मुख्य दिन असोज ९ गते तल्लोटोलमा तथा असोज १० गते माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो। जात्राका क्रममा लाखे, दशअवतार, पुलुकिसी, रामचन्द्रलगायत विभिन्न सांस्कृतिक नाच तथा झाँकी प्रस्तुत गरिएका थिए।

इन्द्रध्वजपातनपछि लिङ्गोलाई हनुमानढोकाबाट घिसार्दै टेकु दोभानस्थित वाग्मती किनारमा लगेर सेलाउने परम्परा छ।

इन्द्रजात्राको प्रक्रिया भाद्र शुक्ल द्वितीयाका दिन लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेसँगै सुरु हुन्छ। त्यसपछि रुख कटान, लिङ्गो नगर प्रवेश तथा विभिन्न धार्मिक विधि पूरा गरी भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा इन्द्रध्वजोत्थान गरिन्छ।

इन्द्रजात्रा राजा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ भने रथयात्राको परम्परा राजा गुणकामदेवको पालादेखि सुरु भएको मानिन्छ। ऐतिहासिक तथ्यअनुसार इन्द्रजात्राकै दिन पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेका थिए।

इन्द्रजात्राको अन्तिम दिन हनुमानढोका दरबार क्षेत्रमा वर्षा तथा सहकालका देवता इन्द्रको पूजा आराधना गर्ने भक्तजनको उल्लेख्य भीड लागेको थियो। जीवित देवी कुमारीको दर्शन गर्न पनि भक्तजन लामबद्ध भएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *