राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा विशेष पूजा
भक्तपुर, ८ कात्तिक । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ।
प्रथम महिला सविता पौडेलसहित आज दिउँसो नवदुर्गा मन्दिर पुग्नुभएका राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको पूजा तथा दर्शन गर्नुभएको हो। उहाँलाई रमेश कर्माचार्यले सङ्कल्प पूजा गराउनुभएको थियो। राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्तिहरूको अवलोकनसमेत गर्नुभयो।
नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले राष्ट्रपति पौडेललाई नवदुर्गा भवानीको प्रसादस्वरूप जमरा, टीका, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो। राष्ट्रपति पौडेलले ती प्रसाद ग्रहण गर्नुभएको थियो।
सो अवसरमा राष्ट्रपति पौडेलले नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई दक्षिणा प्रदान गर्नुभयो।
राष्ट्रपति पौडेललाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, भक्तपुर क्षेत्र नं. १ का सङ्घीय सांसद रुकेश रञ्जित, गङ्गालक्ष्मी अवाल, प्रमुख जिल्ला अधिकारी विनोदबहादुर खड्कालगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख तथा अन्य व्यक्तिहरूले स्वागत गर्नुभएको थियो।
