झापामा तीन लाखभन्दा बढी मूल्यका अवैध पटका बरामद गरी नष्ट
भद्रपुर, १० कात्तिक । चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाख रुपैयाँभन्दा बढी मूल्यका पटका झापामा बरामद गरी नष्ट गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापा तथा मातहतका कार्यालयले सीमा नाका र चेकपोइन्टमा गस्ती तथा जाँच गर्ने क्रममा तीन लाख १६ हजार ५९० रुपैयाँ बराबरका पटका बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको छ। पटका ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टका अनुसार चाडपर्वका समयमा हुन सक्ने चोरीपैठारी र अवैध गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा गस्ती, निगरानी तथा सवारीसाधन जाँचलाई तीव्रता दिइएको छ।
